स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’ पुनः बन्ने, मुख्य भूमिकामा केदार, धिरज र बुद्धि

काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित चलचित्र ‘कहाँ भेटिएला’को नामबाट फेरि सिनेमा निर्माण हुने भएको छ ।
२००८ मा रिलिज भएको स्वर्गीय निर्देशक शिव रेग्मीको निर्देशनमा बनेको यस चलचित्र ‘कहाँ भेटिएला’बाट अभिनेत्री श्वेता खड्काले फिल्मी यात्रा सुरु गरेकी थिइन् ।
हाल प्रदर्शनरत चलचित्र ‘माइतीघर’का निर्देशक मिलन तामाङले ‘कहाँ भेटिएला’लाई बनाउने घोषणा गरेका हुन् ।
शक्ति नमोबुद्ध फिल्मस् प्रालीको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रलाई निर्देशक तामाङले मंगलबार आफ्नो दोस्रो निर्देशकिय सिनेमाको रुपमा घोषणा गरेको बताएका छन् ।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ । प्रदर्शन मिति तय नगरिएको यस सिनेमाका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई छ ।
‘कहाँ भेटिएला’मा को-को कलाकार र प्राविधिक रहन्छन् भन्ने बारेमा पनि निर्देशक तामाङले बताएका छैनन् । उनले केहि दिनपछि चलचित्रको सम्पुर्ण जानकारी दिने बताइएको छ ।
गत असारमा चलचित्र विकास बोर्डबाट निर्माणका लागि इजाजत लिइसकेको यो चलचित्रमा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ ।
निर्देशक तामाङले ‘माइतीघर’बाट पहिलोपटक निर्देशन यात्रा सुरु गरेका हुन् । दशैंको फुलपातिमा प्रदर्शन यस चलचित्रले दर्शकको प्रशंसा पाइरहेको छ ।
चलचित्र पुनर्निर्माणबारे कुरा गर्दै निर्देशक तामाङले भने, “दर्शकले ‘माइतीघर’लाई दिएको माया र साथले मलाई नयाँ जोश दिएको छ । ‘कहाँ भेटिएला’लाई अझ नेक्स्ट लेभलमा बनाएर दर्शकलाई फरक अनुभूति दिनेछु ।”