पब्लिसिटीमा नहिँड्ने कलाकारलाई समीरको व्यङ्ग्य

काठमाडौं । नायक सीमर भट्टले नामै नलिई अग्रज तथा समकालीन कलाकारलाई राम्रै व्यङ्ग्य गरेका छन् । उनले घुमाउरो शैलीमा चलचित्रमा काम गर्ने, मोटो पारिश्रमिक पनि लिने तर चलचित्रको प्रचारप्रसारमा नहिँड्ने कलाकारलाई व्यङ्ग्य गरेका हुन् ।

चलचित्रमा काम गरिसकेपछि अभिनय मात्रै होइन सिनेमाको प्रचारमा हिँड्नु पनि आफ्नो दायित्व भएको समीरले बताएका छन् । त्यसैले आफू हरेक दिन चलचित्रको पब्लिसिटीका लागि हल भिजिटमा हिँडिरहेको बताएका छन् ।

त्यो त हो पनि, दुई हप्ता भयो चलचित्र ‘बलिदान’ रिलिज भएको तर कुनै त्यस्तो दिन छैन, जुन दिन उनी हलमा नगएका हुन् ।

आफू निर्माता र निर्देशकको दबाबभन्दा पनि स्वच्छाले नै हलमा गइरहेको बताएका छन् ।

“मैले पनि कोअपरेट गर्नुपर्ने हुन्छ । सिनेमा साइन गरेपछि प्रोमोसनमा चाहिँ नहिँड्ने भन्ने हुँदैन,” समीर भन्छन्, “कलाकार भएपछि आफ्नो दायित्व पनि पूरा गर्नुपर्छ ।” कलाकार भएपछि प्रोमोसनमा हिँड्नु दायित्व भएको उनले प्रष्ट शब्दमा भनेका छन् ।

“प्रोमोसनमा जानु पर्छ, किन नजाने ? दर्शक भेट्न पाइन्छ,” उनी भन्छन्, “हल भिजिट गर्दा थकित भए पनि अगाडि देखिने अडियन्सको मायाले जोश दिन्छ ।”

यसरी समीरले कुन कलाकार सिनेमामा काम गरेर पब्लिसिटीमा निर्माता निर्देशकलाई सहयोग गर्दैन त्यो भनेनन्, तर नामै नलिइ यसरी बोलेको कुराले धेरैलाई कडा शवक भने भएको छ ।

चलचित्र वितरक गोविन्द शाही चलचित्रको पब्लिसिटीका लागि कलाकार हिँड्नु सक्सेस भएको बताउँछन् । उनको यो भनाइले पनि सबै कलाकारले सिनेमाको पब्लिसिटीमा नहिँड्ने गरेको जनाउँछ ।

वितरक शाहीले समीर गत वर्ष ‘१२ गाउँ’मा पनि ५१ दिन नै हल भिजिटमा हिँडेको बताए ।

कलाकारले मोटो पारिश्रमिक लिने तर पब्लिसिटीमा भने समय नदिने गरेको गुनासो निर्माताहरूले लगाउँदै आएका छन् ।