‘मैझारो’को ट्रेलरमा प्रेमको लागि संघर्ष र दयाहाङको सस्पेन्स इन्ट्री

काठमाडौं । विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मैझारो’को ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार धिरज मगर, मिरुना मगर, दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन् । जसमा निर्देशक विल्सन आफैँले पनि अभिनय गरेका छन् ।

दयाहाङको इन्ट्रीसँगै ट्रेलर सकिन्छ । त्यसैले उनको भूमिका के हो खुलेको छैन ।

निर्देशक राईकै कथा रहेको यो चलचित्रमा पूर्वको इलाम पाँचथर आसपासमा खिचिएको छ । तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा धिरज, मिरुना, दियासँगै बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूलगायतका कलाकारको अभिनय रहेको छ ।

सौरभ लामाले छायांकन गरेको चलचित्रको वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ । चलचित्र कातिक ७ गतेबाट नेपाल रिलिज हुँदैछ ।