अनमोलले भने– ‘जेरी अन टप’ दिपावलीमा दर्शकका लागि सेलिब्रेसन, बक्सअफिसबारे जसिता र आँचल के भन्छन् ?

काठमाडौं । नायक अनमोल केसीले चलचित्र ‘जेरी अन टप’ दिपावलीमा दर्शकका लागि सेलिब्रेसन हुने बताएका छन् । लभस्टोरी र सोसल ड्रामासहितको चलचित्र ‘जेरी अन टप’ दर्शकका लागि दिपावलीमा सेलिब्रेसन हुने अनमोलको भनाइ छ ।
आफ्ना लागि बक्सअफिसको अंकभन्दा पनि दश वर्षदेखि दर्शकले दिइरहेको माया महत्वपूर्ण भएको बताए । दश वर्षदेखि पाइरहेको माया ‘जेरी अन टप’मा पनि दर्शकबाट पाउनेमा उनी ढुक्क छन् ।
‘जेरी अन टप’ सगरमाथाको डकुमेन्ट पनि भएको भन्दै अनमोलले यसले फिल्म टुरिजममा पनि सहयोग गर्ने बताए । ‘जेरी अन टप’ सगरमाथाको प्रोमोटका लागि सहयोगी हुने उनको विश्वास छ । बजेट र बजार अनुसारको चलचित्र बनेको उनले बताए ।
‘जेरी’लाई जस्तै दर्शकले माया गरिदिने उनको विश्वास छ । “अहिले देखिएको बुकिङले पनि दर्शकले माया गरिदिनु हुन्छ भन्ने लागेको छ,” उनले भने, “बुधबार नै कतिपय हलको टिकट पूरै बुक भएको छ । तर, व्यापार मात्रै पनि सबै थोक होइन । चलचित्रमा धेरै कुरा हुन्छ ।”
बुवा भुवन केसीसँग काम गर्दा आफूले धेरै कुरा सिक्ने मौका पनि पाएको उनले बताए । “बुवाले याद गर, तँ को सँग छस् भन्नु हुन्थ्यो । उहाँ यसै यो स्थानमा आउनु भएको होइन रहेछ, हार्ड वर्क गरेर यहाँसम्म आइपुग्नु भएको हो,” उनले भने, “पछि हेरेर पछुताउनुभन्दा अहिले राम्रो गर्नु, राम्रो हो भन्नुहुन्थ्यो ।”
नायिका जसिता गुरुङले अनेमोलको स्टारडम रहेको तर त्यसकै दबाबमा भने राख्न नहुने बताइन् । “अनमोलको स्टारडम छ, खुसी लाग्छ । तर, स्टारडम छ भनेर पूरै उसकै टाउकोमा बक्सअफिसको दबाब दिनु हुँदैन,” उनी भन्छिन्, “अनमोल भनेर दर्शक आउँछन् होला । तर, इन्ड अफ द डे चल्ने कन्टेन्ट नै हो ।”
नायिका आँचल शर्माले नाफा घाटा प्रोडुसरको विषय भएको बताइन् । कलाकारको नाताले बक्सअफिस उनीहरूसँग जोडिए पनि अन्तिममा प्रोडुसरको विषय भएको उनको तर्क छ ।
“हामी त कलाकार हौँ । हामीले गरेको कामले एकजना दर्शकको मुहारमा हाम्रो कामले मुस्कान ल्याउन सक्यो भने त्यो हाम्रो सफलता हो,” आँचल भन्छिन्, “त्यो नै हाम्रो काम पनि हो । बक्सअफिस कलाकार भएकाले जोडिएर आए पनि त्यो प्रोडुसरको विषय हो ।”
‘जेरी’ युवा पुस्ताले मन पराएको चलचित्र भएको स्मरण गर्दै आँचलले ‘जेरी अन टप’ मन पराउने अपेक्षा गरेको बताउँछिन् । आफ्नो क्यारेक्टर सुन्दै सुरुमा एक्साइटेड भएको भन्दै उनले दर्शकले पनि मन पराइदिने उनको विश्वास छ ।
जेरी अन टप’मा अनमोल केसीसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी मुख्य अभिनयमा छन् ।
असोज ३१ गतेबाट रिलिज हुने चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।