अञ्जना बराइली भन्छिन्– ‘परान’ खोजी–खोजी हेर्ने सिनेमा हो

काठमाडौं । चलचित्र ‘परान’की अभिनेत्री अञ्जना बराइलीले यो सिनेमामा अभिनय गर्न सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण स्वीकार गरेको बताएकी छन् । उनले यो चलचित्र खोजीखोजी हेर्ने फिल्मको सूचीमा पर्ने बताएकी छन् ।
“म यसमा जोडिनुको एउटै कारण यसको विषय हो । यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,” उनले भनिन्, “जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु । डबिङको समयमा नै मैले यो फिल्म त दसैँमै लगाउनुपर्छ भनेकी थिएँ, जब कि प्रायः म यस्तो भन्दिनँ ।”
अञ्जनाका अनुसार दसैँ–तिहार पारिवारिक माहोलका चाडपर्व भएकाले, दसैँमा राम्रो पारिवारिक फिल्म हेर्ने चाहना भएकाहरूका लागि उपयुक्त भएकै कारण उनले निर्माण पक्षलाई दसैँमै फिल्म रिलिज गर्न सुझाव दिएकी थिइन् ।
“जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडबाडमै लगाउनुपर्ने फिल्म हो । तर, हामीले भने चाडबाड सकिएपछि रिलिज गर्न लागिरहेका छौँ,” उनले भनिन् ।
यो फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्ने अञ्जनाको दाबी छ । उनका अनुसार यसले सबै उमेरका मानिसका कुरालाई समेटेको छ । चलचित्रमा शीर्ष भूमिका नीर शाहको भए पनि त्यसपछि दर्शकले याद गर्ने भूमिका आफूले गरेको अञ्जनाको भनाइ छ ।
रिलिज मिति नजिकिँदै आइरहेको भए पनि अञ्जना उति आत्तिएकी छैनन्। उनलाई फिल्मले दर्शकको मन जित्ने पूर्ण विश्वास छ ।
‘परान’लाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । आचार्यकै कथा रहेको यस फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् ।
देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ले फिल्म निर्माण गरेको हो ।
चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ । ‘परान’ कात्तिक १४ गते रिलिज हुँदैछ ।