प्रशान्त र झुमाको स्वरमा ‘सोल्टिनी’को नयाँ गीत ‘बाँचुन्जेल पो’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘सोल्टिनी’को नयाँ गीत सार्वजनिक भएको छ ।

कार्तिक ६ गते भाइटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माणपक्षले शुक्रबार ‘बाँचुन्जेल पो’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने झुमा लिम्बु र प्रशान्त सिवाकोटीको स्वर छ ।

गीतको मिठो धुन र मार्मिक शब्दले चलचित्रको अन्तरजातीय प्रेमकथाको सार प्रस्तुत गर्दछ ।

चलचित्र ‘सोल्टिनी’को कथा एक अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई उजागर गर्छ ।

निर्देशक अर्जुन सुवेदी निर्देशित यस चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बु मुख्य भूमिकामा छन् । उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायत कलाकारको पनि अभिनय रहेको छ ।

यसअघि सार्वजनिक भएको ट्रेलरले दर्शकमाझ उत्साह जगाइसकेको छ, जसले ‘सोल्टिनी’लाई मनोरञ्जनका साथै सामाजिक सन्देश दिने चलचित्रका रूपमा स्थापित गर्ने सङ्केत गर्छ ।