ढुकढुकी बढाइरहेको ‘अभिमन्यु : च्याप्टर १’, के गर्दैछन् कलाकार ?

काठमाडौं । कहिले प्राकृतिक विपत्ति त कहिले चलचित्रको बाक्लो लाइनअप अनि कहिले आन्दोलनका कारण सर्दै आएको चलचित्र हो, ‘अभिमन्यु : च्याप्टर १’ ।
जेनजी आन्दोलन, दसैँमा चलचित्रको बाक्लो लाइनअप र प्राकृतिक विपत्तिका कारण ‘अभिमन्यु : च्याप्टर १’ तीन पटक सरिसक्यो । पटकपटक चलचित्र सार्नु पर्दा निर्माण टिम र कलाकारको मुटुको ढुकढुकी भने बढाइरहेको छ ।
चलचित्रका मुख्य कलाकार कामेश्वर चौरासिया सिनेमाका समाचार लिंक र पोस्टर फेसबुकमा सेयर गर्दै व्यग्र प्रतिक्षा लेखिरहेका छन् । पब्लिसिटी गरिसकेको चलचित्र रिलिज नहुँदा प्रतिक्षाको समय बिताउन उनलाई कठिन भइरहेको छ ।
अर्का कलाकार किरण श्रेष्ठ पनि चलचित्रका गीत, पोस्टर र क्यारेक्टर पोस्टर सेयर गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत निरन्तर उनी आफ्नो चलचित्रबारे जानकारी दिइरहेका छन् ।
पटकपटक चलचित्रको प्रदर्शन मिति सरेपछि उनी लेख्छन्, जे हुन्छ राम्रैका लागि हुन्छ ।
उता लक्ष्मी बर्देवा पनि आफ्नो चलचित्रका सामग्री बेलाबेलामा सामाजिक सञ्जालमा पोस्ट गर्छिन्, सोलो लिड गरेको चलचित्र पहिलोपटक रिलिज हुन लागेको छ । तर, पटकपटक सर्दा उनको मुटुको चाल पनि यो चलचित्रले बढाइरहेको छ ।
यता, निर्माता विनोद पौडेल पनि ‘अभिमन्यु : च्याप्टर १’को रिलिजको प्रतिक्षामा छन् । उनी आफ्नोभन्दा अगाडि रिलिज हुने चलचित्रलाई शुभकामना दिएर बसिरहेका छन् । उनले आफ्नो अर्को चलचित्र ‘रोल नं १’बारे पनि केही जानकारी सेयर गरिरहेका छन् ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ कात्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउँदै छ ।
‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा एकसाथ प्रदर्शन हुँदैछ । भारत र विश्वका विभिन्न देशहरूमा पनि कात्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायत कलाकारहरू मुख्य भूमिकामा छन् ।
चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् । मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।
शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।