को हुन् आत्मदाह प्रयास गर्ने गायिका ? गायक बाबुल गिरी प्रहरी सोधपुछमा

काठमाडौं । चर्चित गायक तथा संगीतकार बाबुल गिरीको अनामनगरस्थित स्टुडियोमा एक गायिकाले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार दिउँसो भएको उक्त घटनामा आत्मदाह गर्ने गायिका नितु पौडेल रहेको खुलेको छ ।

घटनास्थलमा उपस्थित स्थानीयले बताएअनुसार नितुले स्टुडियोभित्र आफैंलाई जलाउने प्रयास गरेकी थिइन् । स्थानीय र प्रहरीले तत्काल उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको छ । आगोले नितुको अनुहार र शरीरको केही भाग डढेको बताइको छ ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । आत्मदाह प्रयासको कारण भने स्पष्ट भएको छैन ।

प्रहरीका अनुसार गायक बाबुल गिरीलाई पनि सोधपुछका लागि प्रहरीले बोलाएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले केही प्राविधिक र प्रारम्भिक सोधपुछका लागि गिरीलाई प्रहरी परिसरमा बोलाइएको जानकारी दिएका छन् ।

हाल नितु पौडेल बर्न अस्पतालमा उपचाररत छन् भने बाबुल गिरीसँग प्रहरीले घटनाको विवरण बुझ्ने प्रक्रिया जारी राखेको जनाएको छ ।

गायक बाबुल गिरी र गायिका नितु पौडेलले यसअघि पनि सँगै धेरै गीतमा सहकार्य गरेका छन् । नितुको आवाज रहेको ‘सत्य राम कसम’मा बाबुलले शब्द, संगीत र एरेन्ज गरेका थिए । यस्तै , ‘सिट्ठी मारेर’, ‘उसको नजरमा के’ जस्ता गीतमा पनि उनीहरुले सहकार्य गरेका थिए ।

बाबुल गिरीका ‘ब्रेकअप सङ’, ‘घामै राजा’, ‘सुतेर उठेको पैसामा’ लगायतका गीतहरूले नेपाली संगीत बजारमा निकै लोकप्रियता हासिल गरेका छन् ।