माघ १६ गतेबाट रिलिजकाे घोषणा गर्दै ‘आबाट आमा’को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आबाट आमा’टिमले पोस्टर सार्वजनिक गरेको छ । तिहारको लक्ष्मीपूजाको विशेष अवसर पारेर फिल्म ‘आबाट आमा’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो ।

जहाँ सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन् । जहाँ सन्तानको खुशीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ ।

ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ ।

पोस्टरमा लेखिएको संवाद, ‘बाआमाले परिश्रमले घर बनाउनुभयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं ।’ले कथा आम नेपाली परिवारको यथार्थसँग गहिरो सम्बन्ध राख्ने देखिन्छ ।

चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा र आर्या पन्तको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा लगायत रहेका छन् ।

फिल्म ‘आबाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन् ।