देशव्यापी देउसी भैलो यात्रामा व्यस्त ‘सोल्टिनी’ टिम, सेन्सरबाट पायाे परिवारमैत्री प्रमाणपत्र
काठमाडौं । भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’ हाल देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा व्यस्त छ ।
चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोली ‘देउसी भैलो कार्यक्रम’मा सहभागी भएका थिए ।
यसबीच, २ घण्टा २५ मिनेट ३३ सेकेन्ड लामो चलचित्र ‘सोल्टिनी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ ।
चलचित्रको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ र देशभरका हलहरूले यसका लागि आकर्षक शो सङ्ख्या तोकेका छन्, जसले दर्शकमाझ उत्साह थपेको छ ।
अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रमा मुख्य भूमिकामा प्रकाश सपूत र परीक्षा लिम्बु छन् । उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ ।



