‘१२ गाउँ’ अब ‘सिनेमाघर’मा हेर्न सकिने

काठमाडौं । अभिनेता बिराज भट्टको निर्देशनमा बनेको नेपाली चलचित्र ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक भएको छ ।

गत वर्षको बडादसैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल यो चलचित्र लक्ष्मीपूजाको अवसर पार्दै ‘सिनेमाघर’मा रिलिज गरिएको हो ।

यो चलचित्रलाई दर्शकले रु. २९९ मा विश्वभरबाट हेर्न सक्नेछन् । चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ । साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ ।

यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्र ‘१२ गाउँ’को कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन् । द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन् ।

नेपालकै प्रमुख पर्व तिहारको माहौलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न गरिएको यो डिजिटल रिलिजले नेपाली फिल्म उद्योगलाई डिजिटल प्लेटफर्मतर्फ उन्मुख गराउने नयाँ कदमको रूपमा हेरिएको छ । ‘सिनेमाघर’ले पछिल्ला वर्षहरूमा नेपाली चलचित्रहरूलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउँदै आएको छ, र ‘१२ गाउँ’ को रिलिजले यस अभियानलाई थप बल प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सिनेमाघरमा चर्चित चलचित्रहरू ‘पिताम्बर’, ‘होस्टेल ३’, ‘गाउँ आएको बाटो’, ‘फेरी रेशम फिलिली’ लगायतका दर्जनौँ चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन् ।