टंक बुढाथोकीको देशभर ‘मन बिनाको धन’ अभियान
काठमाडौं । संगीतकार तथा निर्देशक टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ ले यतिबेला देशभर ‘बिनाको मन धन’ अभियान चलाएको छ ।
कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रले देशैभरि प्रचारप्रसारलाई तीव्रता दिँदै अहिले शहरका गल्लीदेखि ठूला चोकसम्म ‘मन बिनाको धन’ कै लहर बनाएको छ ।
राजधानी काठमाडौंसहित पोखरा, चितवन, नेपालगन्ज, इटहरीलगायत पूर्वका प्रमुख शहरहरूमा यतिबेला ई-रिक्शा र अटोहरू ‘मन बिनाको धन’ का फ्लेक्सले सजिएका छन् । जहाँ हेर्यो, त्यहीँ फिल्मको चर्चा र प्रचारले वातावरणलाई चलचित्रमय बनाएको छ । यसका साथै देशका मुख्य-मुख्य शहरका चोकहरूमा विशाल होर्डिङ बोर्डहरूले पनि दर्शकको ध्यान खिचेका छन् ।
निर्देशक बुढाथोकीका अनुसार ‘मन बिनाको धन’ एउटा सामान्य चलचित्र मात्र नभएर एक सामाजिक अभियान हो । उनले भने, “हामीले देशैभरि चलचित्रको व्यापक प्रचारप्रसार सुरु गरेका छौं । तिहार लगत्तै यसको ट्रेलर र गीतहरू सार्वजनिक गर्नेछौं, जसले दर्शकहरूलाई एउटा नयाँ अनुभव दिनेछ ।”
यो चलचित्रले सडकमा गीत गाउँदै हिँडेका अशोक दर्जीको जीवनमा आएको परिवर्तनको कथालाई मुख्य विषय बनाएको छ। टंक बुढाथोकीले अशोकलाई भेटेर “मन बिनाको धन ठूलो कि धन बिनाको मन” भन्ने प्रश्नमार्फत उनको जीवनको मोड नै बदलिदिएका थिए । हाल कक्षा ९ मा अध्ययनरत अशोकको वरिपरि रहेर बुनिएको यो चलचित्रले समाजका विभिन्न आयामहरूलाई समेटेको छ ।
टंक बुढाथोकीकै लेखन, निर्माण र निर्देशनमा बनेको यो चलचित्रमा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारीलगायत अशोक दर्जी स्वयंको अभिनय रहेको छ ।
मिनु शर्मा (सपना) को सह-निर्माण र जी.पी संग्रौला, विवेक नेपाल तथा बिजया पाण्डेको सह-निर्माताको रूपमा संलग्नता रहेको छ ।
चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।
‘मन बिनाको धन’को वितरणको जिम्मा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन् ।
कार्तिक २१ गतेबाट ‘मन बिनाको धन’ ले ठूलो पर्दामा दर्शकहरूलाई कत्तिको प्रभाव पार्छ, त्यो प्रतिक्षाको विषय बनेको छ ।



