चलचित्र ‘सोल्टिनी’को गीत ‘सुन सोल्टिनी’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘सोल्टिनी’ रिलिजको एक दिन अघि नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ । एसडी योगी र बेनिशा पौडेलको स्वरमा रहेको यस गीतमा शब्द तथा संगीत प्रशान्त सिवाकोटीको रहेको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बूबीचको आकर्षक केमेस्ट्री, रमाइलो नृत्य र लोक पप शैलीको ताजगी झल्किने भिजुअल देख्न सकिन्छ । यसले चलचित्रको कथा पृष्ठभूमि झल्काउँदै दर्शकलाई मनोरञ्जन र उत्साह दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ ।
‘सोल्टिनी’ टिम हालै देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार प्रसार गरेको छ ।
चलचित्रलाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने संघर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ ।
चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय देख्न पाइनेछ ।



