चलचित्र ‘परान’को ‘मेरो परान’ प्रतियोगिता घोषणा

काठमाडौं । चलचित्र ‘परान’ले दर्शकहरूलाई आकर्षित गर्न र उनीहरूलाई सिनेमासँग जोड्न ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गरेको छ ।

आगामी कार्तिक १४ गते रिलिज हुने पारिवारिक कथामा बनेको चलचित्रको निर्माण टिमले १ लाख रुपैयाँको पुरस्कार राशीसहितको प्रतियोगिताको घोषणा गरेको हो ।

यस प्रतियोगितामा सहभागीहरूले आफ्नो जीवनमा महत्त्वपूर्ण व्यक्ति, जसलाई उनीहरूले आफ्नो ‘परान’ मान्छन्, उनीहरूसँगको तस्विर पोस्ट गर्नुपर्नेछ । उक्त पोस्ट चलचित्र ‘परान’को अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ ।

प्रतियोगिताको मुख्य पुरस्कार १ लाख रुपैयाँ रहेको छ, जुन एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत प्राप्त गर्नेछन् । यसका साथै १०० जनाले सिनेमाको विशेष शोको टिकट पाउनेछन् ।

चलचित्रको प्रचारका लागि केही स्वयंसेवकहरूले क्यूआर कोडसहित सहरका विभिन्न भागमा घुम्नेछन्, जसलाई स्क्यान गरी सिनेमाको ट्रेलर वा गीत सेयर गर्ने ५० जना दर्शकले कलाकारहरूसँगै फिल्म हेर्ने अवसर पाउनेछन् । प्रतियोगितामा कार्तिक २० गतेसम्म सहभागिता जनाउन सकिनेछ ।

बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र प्रिज्मा एडभर्टाइजिङ एजेन्सीका प्रमुख रन्जित आचार्यको लगानी रहेको छ ।

पारिवारिक कथामा बनेको फिल्मको बटमलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले फिल्मको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ । जसमा वरिष्ठ अभिनेता नीर शाहले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो चलचित्रमा अभिनेता शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय रहेको छ ।

निर्देशक आचार्यकै कथा रहेको यस सिनेमाको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रमा मित्र डी. गुरूङको सम्पादन छ ।

चलचित्रले बुबा र छोराको कथा प्रस्तुत गरेको छ, केही समयअघि सार्वजनिक भएको ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ ।