अनमोलले पुष्टि गरे स्टारडम, दिए दशक लामो करियरकै हिट सिनेमा

काठमाडौं । अनमोल केसी नेपाली चलचित्र क्षेत्रका हट केक हुन् । उनलाई आफ्नो चलचित्रमा अनुबन्ध गराउन निर्देशक तथा निर्माता सधैँ लालायित हुन्छन् ।

उनलाई ५० लाख पारिश्रमिक दिन जो सुकै निर्माता तयार हुन्छन्, तर दुर्भाग्य उनी हम्मेसी जो कसैका चलचित्रमा काम गर्दैनन् । वर्षमा मुस्किलले एउटा चलचित्र उनको रिलिज हुन्छ । अहिले पनि अनमोल आफू वर्षमा एउटाभन्दा बढी चलचित्रमा काम नगर्ने बताइरहेका छन् ।

आफूले काम गर्ने चलचित्रमा चाहेजति समय दिनुपर्ने आफ्नो बानी रहेको उनी बताउँछन् । त्यसैले चाहेर पनि आफू वर्षमा एउटाभन्दा धेरै चलचित्रमा काम गर्न नसक्ने अनमोल बताउँछन् ।

अहिले हलमा प्रदर्शन भइरहेको चलचित्र ‘जेरी अन टप’ पनि करिब डेढ वर्षमा रिलिज भएको हो । थोरै चलचित्र गरे पनि, उनको लोभलाग्दो क्रेज रहे पनि एक दशकको उनको करियरमा ठूलो कमाइ गरेका चलचित्र भने थिएनन् ।

महंगो पारिश्रमिक लिए पनि, वर्षमा एउटामात्र चलचित्रमा काम गरे पनि चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार अनमोलका हालसम्मका चलचित्रले पाँच करोडको आंकडा कटाउन सकेका थिएनन् ।

‘होस्टेल’देखि ‘फर्कीफर्की’सम्म आउँदा अनमोलका चलचित्रको लोभलाग्दो चर्चा भए पनि पाँच करोडको आँकडा कटाउन सकेनन् । चलचित्र विकास बोर्डले गत वर्ष २५ वर्षमा ५ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रका निर्मातालाई सम्मान गर्दा अनमोलका एउटै पनि चलचित्र परेनन् ।

तर, अहिले हलमा रहेको अनमोलको चलचित्र ‘जेरी अन टप’ले भने अहिलेसम्मका सबै चलचित्रलाई बक्सअफिसमा पछि पारिसकेको छ । निर्माता सरोज न्यौपानेले बोर्डले दिएको बक्सअफिस तथयांक भन्दै दिएको तथ्यांक अनुसार शनिबारसम्म यो चलचित्रले ९ करोड कलेक्सन गरिसकेको छ ।

शनिबार मात्रै ‘जेरी अन टप’ले १ करोडभन्दा माथि कलेक्सन गरेको छ । निर्माता न्यौपानेका अनुसार १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको छ । प्रदर्शनको नवौँ दिनमा यो चलचित्रले एकै दिनमा १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको हो ।

अफ डे मानिने आइतबार पनि अबेर रातिबाहेक अधिकांश शो हाउसफूल भएका छन् । असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ले पहिलो दिनदेखि नै उच्च अकुपेन्सीमा चलेको थियो । एक हप्तामा ५ करोड कटाएको थियो ।

हरेक दिन यो सिनेमाले आफ्नो कलेक्सन उच्च बनाउँदै गएको छ । हालसम्मको अकुपेन्सी र कलेक्सन हेर्दा यो सिनेमाले अझै लामो समय उच्च कलेक्सन गर्ने देखिन्छ ।

वैशाखयता रिलिज भएका हालसम्मका चलचित्रमा सबैभन्दा धेरै कमाउने चलचित्र हुने भएको छ । यसपछिका चलचित्रले कस्तो व्यापार गर्छन्, यदि राम्रो कलेक्सन गर्न सकेनन् भने वर्षकै बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्ने सम्भावना पनि छ । तर, यसका निश्चिन्त भने अहिले नै हुन सकिने अवस्था छैन । किन भने ‘जारी’को सिक्वेललगायत केही अपेक्षित चलचित्र रिलिज हुन बाँकी नै छ ।

अनमोलले ‘गाजलु’मा १० लाख रुपैयाँ पारिश्रमिक लिएर सबैभन्दा महंगो अभिनेता बनेका थिए । त्यसपछि ‘फर्की फर्की’मा ५० लाख रुपैयाँ लिएर फेरि नेपाली चलचित्र उद्योगकै महंगो पारिश्रमिक लिएर मंहगो अभिनेता बनेका थिए ।

अनमोललाई मंहगो कलाकार बनाउने निर्माता रोहित अधिकारी हुन् । ‘गाजलु’ र ‘फर्की फर्की’ दुवै रोहितकै चलचित्र थिए ।

सबैभन्दा धेरै पारिश्रमिक लिने तर उनका चलचित्रले आकर्षक ग्रसकलेक्सन गर्न नसक्दा अमोलको आलोचना हुँदै आएको थियो । आफूले लिएको पारिश्रमिक पनि उनका चलचित्र उठाउन सकेका छैनन् भनेर टिप्पणी हुँदै आएको थियो । विशेषगरी यो टिप्पणी ‘छड्के २’ रिलिज भएपछि धेरै नै भयो । किन भने यो सिनेमाले जम्मा २७ लाख रुपैयाँ मात्रै ग्रसकलेक्सन गरेको थियो ।

संयोग नै भनौँ, यो पटक कस्तो भयो भने यसअघिका अनमोलका चलचित्रको गज्जबको हाइप हुन्थ्यो । तर, यो पटक ‘जेरी अन टप’को ट्रेलर आउँदासम्म उनको चलचित्र आउँदैछ भन्ने धेरैलाई थाहा थिएन । बिना हल्लाखल्ला आएको सिनेमाले कलेक्सन भने पहिलो दिनबाटै आक्रामक सुरु गर्यो । यसले अनमोलको स्टारडम पुष्टि गरेको छ ।

स्टारडम सुरुमा दुई दिन देखिने हो, त्यसपछि कन्टेन्टले नै दर्शक तान्ने हो । यसपटक त्यस्तै भयो । यसले अनमोलले आफ्नो स्टारडम पुष्टि गरेका छन् । उनलाई स्टारकिड्स कै भरमा महंगो पारिश्रमिक लिइरहेको भन्ने टिप्पणीको उनको ‘जेरी अन टप’ले नै जवाफ दिएको छ । अनमोलले ‘जेरी अन टप’मार्फत आलोकलाई जवाफ दिएका छन् । अब उनले राम्रो स्क्रिप्ट र टिम छान्न सके भने उनले लामो समय टिप्पणी झेल्नुपर्ने छैन । किन भने स्टारका सबै चलचित्र हिट हुँदैनन् ।

चलचित्रमा अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेम छ । अभिनेता भुवन केसी, चर्चित हाँस्य कलाकार केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतको अभिनय छ ।

सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्रलाई दुलिप रेग्मीले दृश्यांकन गरेका छन् ।