‘जारी–२’को ट्रेलरमा दयाहाङ र मिरुनाको सम्बन्धमा दरार, लाहुरेको इन्ट्री, परिबन्धमा विजय
काठमाडौं । चलचित्र ‘जारी–२’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले सोमबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा प्रेम, तातो रिसले बिगारेको घरबार र बिग्रिएको घरबार जोड्नका लागि गरिएको प्रयास छ । लिम्बू संस्कार र संस्कृतिमा विवाह कसरी हुन्छ देखाइएको छ । टुट्न लागेको घरबार फेरि जोडिन्छ कि भने प्रतिक्षा गरिरहेका बेला लाहुरेको इन्ट्रीले ट्रेलरलाई रोचक बनाएको छ ।
ट्रेलरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, अनील सुब्बा, विजय बराल, बुद्धि तामाङलगायत कलाकारलाई देख्न सकिन्छ । विजय परिबन्धमा परेर फसेको देखाइएको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका छन् ।
दयाहाङ, मिरुना, विजय, बुद्धि र अनीलसँगै ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र कात्तिक २१ गते रिलिज हुँदै छ ।
‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो । सो वर्ष फिल्मले नेपाली बक्सअफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो फिल्मलाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।



