‘परिवर्तन’को एक्सन प्याक्ड टिजरमा देखियो क्वालिटी

काठमाडौं । चलचित्र ‘परिवर्तन’को टिजर सार्वजनिक भएको छ । छठ पर्वको अवसर पारेर निर्माण टिमले आज टिजर सार्वजनिक गरेको हो ।

टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश छ । एक्सन प्याक्ड टिजरमा जनताको शक्तिसँग सबैले झुक्नुपर्ने देखाइएको छ ।

अपहरण र दुईपक्षबीचको द्वन्द्व देखाइएको टिजरमा भरपुर एक्सन छ । उच्चस्तरको एक्सन, सेट र कलर ग्रेडिङले टिजरमा क्वालिटी देखिएको छ ।

माघ ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा सुशील श्रेष्ठलाई एक्सन स्टारका रुपमा देखाइएको छ ।

टिजर रिलिज कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा कथा लेखक दीपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए ।

विजय केरुङको निर्देशनमा बनेको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिष्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक केरुङले टिजरमार्फत ‘परिवर्तन’को मुख्य सन्देश दर्शकसमक्ष पु¥याउन खोजिएको बताए । उनका अनुसार चलचित्रले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ ।

शिवम अधिकारीको लेखनमा बनेको चलचित्रमा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ ।