चलचित्र ‘मन बिनाको धन’को ट्रेलरमा अशोक दर्जीको सांगीतिक यात्रा
काठमाडौं । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’को बुधबार ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ ।
वर्तमान समाज मन अनि धनबीचको टकराव र अशोक दर्जी कसरी जिरोदेखिको हिरोको यात्रामा अगाडि बढेका छन् भन्ने विषयलाई भावनात्मक र सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ ।
बाटोमा गीत गाउदै माग्दै हिँडेका अशोक दर्जीलाई टंक बुढाथोकीले आफूसँग राखेर ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन् । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् । पटकथा र संवाद् शिवम अधिकारीले लेखेका हुन् ।
टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छिन् । जीपी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहेका छन् ।
टीकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् । चलचित्र अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापालगायतको अभिनय छ ।
चलचित्रमा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।



