‘परिवर्तन’को एक्सन चर्चामा, अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारको माग बढ्यो

काठमाडौं । माघ ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परिवर्तन’को टिजर सार्वजनिक भएसँगै चर्चामा छ । अपहरण र दुईपक्षबीचको द्वन्द्व देखाइएको टिजरमा उच्चस्तरको एक्सन, सेट र कलर ग्रेडिङ क्वालिटी देखिएको छ ।

विजय केरुङको निर्देशन रहेको चलचित्रको टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश छ । एक्सन प्याक्ड टिजरमा जनताको शक्तिसँग सबैले झुक्नुपर्ने देखाइएको छ ।

गत सोमबार टिजर सार्वजनिक भएपछि यो चलचित्रको विदेश राइटस्लाई लिएर यतिबेला माग बढेको छ । निर्माण पक्षले हालै कतार, यूएई र जापानका लागि यसको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको छ ।

‘परिवर्तन’का निर्माता दीपक सिवाकोटीका अनुसार कतार र यूएईका लागि अशिष इन्टरटेनमेन्टले र जापानका लागि युना इन्टरटेनमेन्टले वितरण अधिकार खरिद गरेका छन् ।

सिवाकोटीले हालसम्म तीन देशमा अधिकार बिक्री भइसकेको र अन्य देशहरूसँग पनि कुराकानी भइरहेको बताए । उनले भने, “अहिले तीन देशमा फिल्मको राइट्स बिक्री भइसकेको छ । अन्य देशमा पनि कुराकानी भइरहेको छ । सायद केही दिनमा नै यसबारेमा जानकारी दिनेछौँ ।”

चलचित्रमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन हिरोको रूपमा देख्न सकिन्छ, जसका कारण टिजर रिलिजपछि उनको चर्चा चुलिएको छ ।

दिब्यासी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्माता दीपक सिवाकोटी आफैंले कथा लेखेको ‘परिवर्तन’को पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । यो चलचित्रमा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।

चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ ।

‘परिवर्तन’ शीर्षकमा यसअघि पनि २०२८ सालमा चलचित्र निर्माण भएको थियो । जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए ।