‘एक्लो’ को सस्पेन्स र थ्रिलर टिजर सार्वजनिक
काठमाडौं । आगामी अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १७ गते (जनवरी १) मा प्रदर्शन हुने चलचित्र ‘एक्लो’ को टिजर हालै सार्वजनिक भएको छ ।
परम्परागत नेपाली सिनेमाभन्दा भिन्न कथावस्तु र उच्च प्रविधिको प्रयोगका कारण ‘एक्लो’ ले नेपाली दर्शकलाई एउटा बिल्कुलै नयाँ अनुभव दिनेमा निर्माण टिम विश्वस्त छ ।
दर्शकमा उत्सुकता बढाउने सस्पेन्स र थ्रिलरको संयोजन रहेको टिजरमा पैसा र सत्ताका लागि हुने लडाइँ र रहस्यमय पात्रहरूबीचको तनावपूर्ण संघर्षको झलक प्रस्तुत गरेको छ ।
‘एक्लो’ ले यसअघि नै विश्वको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा आफ्नो उपस्थिति जनाएर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलिसकेको छ । कान्समा फिल्मको पहिचान बनेपछि यसको प्रतीक्षा अझ बढेको छ ।
बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका प्रदीप शाहीको निर्देशनमा बनेको यो चलचित्र हलिउड स्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण भएको बताइएको छ । शाहीका यसअघिका दुई चलचित्र ‘गोर्खा ब्रिनिथ द ब्रेभरी’ र ‘अन्तीम संस्कार’ अमेजन प्राइममा रिलिज भइसकेका छन्, जसले उनको निर्देशकीय क्षमतालाई प्रमाणित गर्छ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।
एनआरएन समूहको लगानीमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् भने अभिनेता प्रदीप खड्काले पनि यसमा लगानी गरेका छन् । विदेशमा रहेर पनि नेपाली कला र सिनेमा क्षेत्रको विकासमा योगदान पुर्याउन चाहने यो समूहले ‘एक्लो’ मार्फत नेपाली चलचित्रको बजारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने विशेष योजना बनाएको छ।
बाबु श्रेष्ठले छायांकन गरेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन, सन्तोष लामाको कला निर्देशन, र द्रोण प्रसाद पौडेल ‘ठेउके’ को प्रोडक्सन डिजाइन रहेको छ ।
‘एक्लो’ लाई नेपाली चलचित्र उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फको एक महत्वपूर्ण र गम्भीर प्रयासका रूपमा हेरिएको छ ।
यस चलचित्रको वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले गर्दैछन् ।


