पारिवारिक सम्बन्ध, सङ्घर्ष र भावनाको कथामा चलचित्र ‘धागो’को ट्रेलर
काठमाडौं । चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।
कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा चलचित्रको ट्रेलरले मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरेको छ ।
पारिवारिक सम्बन्धका जटिलता, आर्थिक अभावले सिर्जना गर्ने चुनौतीहरू र सामाजिक दुरावस्थाको मार्मिक पाटोलाई सार्वजनिक यस चलचित्रको ट्रेलरमा अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ । यस्तै, सङ्घर्षको दौरानमा देखिएको सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्नका लागि गरिने हरेक माता-पिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरले बिछोडको पीडालाई पनि समेटेको छ । गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ ।
उदिप राणा थापा निर्देशित यो चलचित्र नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ ।
निर्देशकका अनुसार चलचित्र ‘धागो’ले परिवारभित्रका सम्बन्धका धागोहरू कमजोर हुँदा उत्पन्न हुने संवेदनशील परिस्थितिलाई यथार्थपरक रूपमा चित्रण गर्नेछ ।
अभिनेत्री सुरक्षा पन्त को प्रमुख भूमिका रहेको चलचित्रमा प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन् ।
चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले गरेको हो । निर्माण टिममा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् । चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन् ।
चलचित्र ‘धागो’ लाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।


