‘पीआर’ को नयाँ गीत सार्वजनिक, छमछमी नाचे नीर शाह र गौरी मल्ल

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को नयाँ गीत सार्वजनिक भएको छ ।

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको चलचित्रको निर्माण पक्षले आइतबार ‘टाटा बाइ बाइ’ बोलको गीत रिलिज गरेको हो ।

गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ । उनीहरुको नृत्यलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन् ।

सार्वजनिक गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन् । साथै विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी, दिक्पाल कार्की रहेका छन् ।

चलचित्र ‘पीआर’मा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित रहेको निर्देशक शोभित बस्नेतले बताए । उनका अनुसार विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरुप्रति गरेको अपेक्षा यो सिनेमामा समेटिएको छ ।

गीत रिलिजपछि निर्देशक बस्नेतले भने, ‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन् । यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु ।’

‘पीआर’को प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् ।

बन्दे प्रसादको सम्पादन रहेको यो चलचित्रको लेखन गणेश बुढाथोकीले गरेका छन् । त्यसैगरि यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।