८२ हजार ११७ जना दर्शकले हेरे ‘वरिष्ठ बलराम’, कमाइ कति ?

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले साढे दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

‘वरिष्ठ बलराम’ले हालसम्म २ करोड ४८ लाख ३० हजार ४८८ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रलाई ८२ हजार ११७ जना दर्शकले हेरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

कात्तिक ६ गते भाइटीकाका दिन रिलिज भएको यो चलचित्रले राम्रो वर्ड अफ माउथ पाइरहेको छ । भावनात्मक सम्बन्धको पावरफुल प्रस्तुतिलाई विशेषगरी दर्शकले रुचाएको निर्माता आशिष एच तामाङले बताएका छन् ।

सम्बन्ध, स्थानीयस्तरमा मिलेमतोमा हुने ठेकदारी, अभिनय, गीतसंगीतलगायत पक्षलाई दर्शकले मन पराएको उनले बताएका छन् ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ । पटकथा महेश दवाडी ले लेखेका छन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।