अनमोलले दिए करियरकै हिट सिनेमा, दोहोरो अंकको कलेक्सनले करियर गर्‍यो बुष्ट

काठमाडौं । अनमोल केसीले आफ्नो सिने करियरकै हिट सिनेमा दिएका छन् । ‘जेरी अन टप’ले नेपाली बक्सअफिसबाट १० करोडको आँकडा पार गरेको छ ।

अनमोल केसीको दश वर्षको सिने करियरमा दोहोर अंकको ग्रसकलेक्सन गर्ने पहिलो चलचित्र नै ‘जेरी अन टप’ बनेको छ । यो सिनेमाले दुई हप्तामा १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ नेपाली बक्सअफिसबाट कलेक्सन गरेको छ ।

यो चलचित्र तीन लाख ३३ हजार ६०५ जनाले हेरेका छन् । यो चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक हो । यसबाहेक केही रकम सिंगल थिएटरबाट आउँछ, जुन विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकमा समावेश हुँदैन ।

‘जेरी अन टप’ले डायस्पोरामा पनि ठूलो रकम उठाएको छ । अनमोल अहिले सिनेमाको प्रचारका लागि जापानमा छन् ।

‘जेरी अन टप’ले अनमोल केसीको करियरलाई बुष्ट गरेको छ । राम्रो हाइप बनाएर पनि अनमोलका सिनेमाले राम्रो कमाइ गर्न सकिरहेका थिएनन् । यो समस्याबाट उनले पार पाएका छन् ।

युवा पुस्तामा लोभलाग्लो क्रेज हुने, सिनेमाको हाइप पनि राम्रो हुने, मेकिङ पनि ठिकठाक हुने, इनिसियल ब्यापार पनि राम्रै हुने तर समग्र कलेक्सन भने लोभलाग्दो नहुने समस्याबाट पहिलोपटक अनमोलले मुक्ति पाएका छन् ।

‘जेरी अन टप’को दोहोरो अंकको कलेक्सनले अनमोलको क्रेज अब निर्माताहरूमा पनि बढाउने निश्चित छ । उनलाई लिएर सिनेमा बनाउनेहरूको होड पक्कै बढ्ने भएको छ । युवामा अनमोलप्रति क्रेज भए पनि बक्सअफिस कलेक्सनलाई केलाउँदा उनको स्टारडमलाई लिएर प्रश्न उठ्न थालेको थियो । अब भने सायद यो प्रश्न अनमोलमाथि उठ्ने छैन ।

‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायतको मुख्य भूमिका छ ।

अनन्या फिल्मस्को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा बनेको ‘जेरी अन टप’मा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी छ । सिनेमाको कथा हेमराज बिसीको छ ।

अनुराधा गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।

सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ ।