‘निर्माणाधीन चलचित्र संग्राहलय’का लागि रेड एम एक्स क्यामेरा प्रदान

काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रमै पहिलोपटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले चलचित्र संग्राहलयको तयारी तीव्र पारेको छ ।

१६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन् । क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीले ग्रहण गरेका हुन् ।

उपकरण ग्रहण गर्दै अध्यक्ष डिसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्वपूर्ण थपिएको बताए ।

“चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ,” उनले भने ।

संग्राहलयमार्फत नेपाली चलचित्रका पुराना क्यामेरा, उत्पादन उपकरण, फिल्म पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार–सम्मानलगायत ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ । यो क्यामेराबाट नेपाली चलचित्र ‘मायाज बार’, ‘छ एकान छ’, ‘अझै पनि’लगाएत चलचित्र छायांकन गरिएको थियो ।

क्यामेरा प्रदान गरेका बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको बताए । दागंबाट राजधानीमा चलचित्र व्यवसाय गर्न आएका उनको कम्पनीले हाल चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ । सिनेफोकस अत्याधुनीक लाईट तथा उपकरणमा अब्बल मानिन्छ ।