‘रमिताको पिरती’को फस्टलुक सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा
काठमाडौं । सुदिप्ताको डेब्यु निर्देशनमा तयार भएको चलचित्र ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ ।
निर्माणपक्षले बुधबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरको हो ।
चलचित्र ‘रमिताको पिरती’ आगामी माघ २३ गतेबाट दर्शकमाझ आउने पक्का भएको छ । यो सिनेमाको मुख्य आकर्षण बनेकी छिन् नायिका आना शर्मा । ‘रमी’ नामक पात्रको भूमिकामा देखिने आनाको वरिपरि नै फिल्मको कथा घुमेको निर्माणपक्षले बताएको छ ।
सार्वजनिक फस्टलुकमा पनि आनाका विभिन्न मनमोहक अवतारहरू देखाइएको छ । जसमा आनाको प्रेम जीवनमा को हो त ? यही प्रश्नले दर्शकहरूमाझ कौतूहल बढाएको छ ।
फिल्ममा आनाको जोडीको रूपमा नायक धिरज मगर र विनय श्रेष्ठका साथै गायकबाट नायक बनेका समीर श्रेष्ठ पनि छन् । समीरले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन् ।
समीरले आफू सुरुमा संगीतकारको रूपमा जोडिए पनि कथावस्तु मन परेपछि अभिनयमा लागेको बताए ।
नायिका आना शर्माले ४ वर्षअघि नै यो कथा सुनेको र यसको मौलिकताले आफूलाई आकर्षित गरेको बताइन् । उनले दर्शकले ‘रमिताको पिरती’ को कथावस्तुलाई मन पराउनेमा विश्वास व्यक्त गरिन् ।
साथै, आनाले आफूले ‘कम्फर्ट जोन’भन्दा बाहिर रहेर फिल्ममा काम गरेको बताइन् । उनले अहिले आफ्नो जीवनमा ‘रमिताको पिरती’ नै घुमिरहेको बताउँदै दर्शकलाई यो फिल्मको कथावस्तु मनपर्ने तर्क गरिन् ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यो फिल्मका मुख्य निर्माता सागर लम्साल हुन् । आर.पी प्रोडक्सन एसोसियट निर्माताको रूपमा जोडिएको छ ।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत सुन्न सकिनेछ । शिशिर विशांखेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको कलर र कातिक बरालको कोरियोग्राफी रहेको छ ।
पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले फरक आयाम र कथा बोकेको भन्दै शुभकामना दिए ।
काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्टले वितरण गर्ने यो फिल्मलाई काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।




