मिरुना मगर भन्छिन्– ‘जारी २’मा मैले आम लिम्बु महिलाको प्रतिनिधित्व गर्दैछु

काठमाडौं । वर्षकै प्रतिक्षितमध्येको एक चलचित्र ‘जारी २’की नायिका मिरुना मगरले आफ्नो चरित्रले लिम्बू समुदायका आम नारीहरूको प्रतिधित्व गर्ने बताएकी छन् ।

लिम्बू कल्चरमा महिलाहरूको वैवाहिक जीवन र त्यसको उतारचढावबारे आफ्नो पात्रले प्रतिनिधित्व गर्ने उनको भनाइ छ । उनले आम लिम्बू महिलाको मनोविज्ञान, उनीहरूको वैवाहिक जीवन र त्यसमा आउने उतारचढावको कथा आफ्नो पात्रमार्फत भन्ने प्रयास गरिएको प्रष्ट पारिन् ।

“सानो घरझगडा हुँदा पनि श्रीमान्लाई दंग्याएर माइत जाने चलन लिम्बू समुदायमा रहेको छ । त्यो मेरो पात्रमा प्रस्टसँग देखिनेछ,” मिरुना भन्छिन् ।

“लिम्बू समुदायमा माइत जानु भनेको सधैँका लागि घर छोड्नु होइन,” मिरुना अगाडि थप्छिन्, “सन्तानप्रतिको जिम्मेवारी पनि हो । ट्रेलरको डाइलगमा पनि छोरी हेर्न बाउ छ भन्ने छ,” उनले भनिन्, “श्रीमान् लिन नआएसम्म घर नजाने चलन छ । यसमा ‘इगो’को प्रश्न पनि छ । श्रीमती माइत गएपछि श्रीमान्ले कति रियलाइज गर्‍यो भन्ने देखाउने काम मेरो चरित्रले गरेको छ ।”

लिम्बु समुदायमा छोरीका लागि माइतको ढोका सधैँ खुला रहने गरेको उनी प्रष्ट पार्छिन् ।

मिरुनाले ‘जारी’मा काम गर्दा आफूलाई लिम्बु कल्चरबारे धेरै कुरा थाहा नभएर आफैँ अलमलमा परेको स्मरण गरिन् । तर ‘जारी २’सम्म आइपुग्दा त्यो समस्या नरहेको उनले बताइन् ।

आफूले ‘जारी २’मा आम लिम्बु महिलाले भोगिरहेको विषय र उनीहरूका लागि माइती हरसमय खुला रहने गरेको अवस्थालाई चित्रण गरेको बताइन् । लिम्बु समुदायमा चेलीका लागि माइतीको ढोका हरसमय खुला रहने गरेको उनले जानकारी दिइन् ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको चलचित्र ‘जारी २’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।