प्रदर्शनअघि टेस्ट रन गर्न ‘जारी २’ निर्माण टिमले किन गर्‍यो हल सञ्चालकलाई अनुरोध ?

काठमाडौं । कात्तिक २१ गते (शुक्रबार)बाट प्रदर्शनमा आउने चलचित्र ‘जारी २’ निर्माण टिमले सिनेमाको साउण्ड लेवलका बारेमा हल सञ्चालकलाई जानरी दिएको छ । बिहीबार विज्ञप्ती सार्वजनिक गर्दै हल सञ्चालकलाई सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नुपूर्व एक पटक टेस्ट रन गर्न अनुरोध गरेको हो ।

सिनेमाको निर्माण टिमले सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “हामीले सिनेमा ‘जारी २’को साउण्ड मिक्सिङ इमर्सिभ साउण्ड फर्म्याटमा सम्पन्न गरेका छौं, जसका कारण दर्शकहरूले यो सिनेमालाई डल्बी एटमस, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा साउण्ड अनुभवका साथ हेर्न सक्नेछन् ।”

यो सिनेमाको मिक्सिङ कार्य डल्बीको फेडर युनिट ५.८ मा गरिएको छ । देशभर सञ्चालनमा रहेका प्रत्येक सिनेमा हलमा साउण्ड प्रेसर लेभल (एसपीएल) फरकफरक हुने भएकाले यो सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नुअघि एक पटक टेस्ट रन गर्न सवै सिनेमा घरलाई अनुरोध गरिएको छ ।

“हामीले अघिल्ला सिनेमा प्रदर्शनका क्रममा पाएका अनुभवमा हलहरूमा सिनेमा प्रोसेसर युनिट ३, ३.५, ४ वा ४.५ फरकफरक अडियो लेबलमा प्रदर्शन हुन्छ, जसले एउटै सिनेमाको साउण्ड फरकफरक सुनिने अवस्था सिर्जना गर्छ,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले सिनेमा हलको प्रणाली मापदण्ड अनुसार क्यालिब्रेट भएको छ कि छैन भन्ने यकिन गर्न कठिन बनाउँछ जसले गर्दा सिनेमाको साउण्ड अप्राकृतिक रूपमा लाउड अथवा सानो सुनिन सक्छ ।”

डल्बी मापदण्डअनुसार सिनेमाको मिक्सिङ फेडर युनिट ७ मा गरिएमा सिनेमाघरमा पनि प्रदर्शन पनि त्यही फेडर युनिट ७ मा हुनुपर्छ । तर, कतिपय हलहरूले (साउण्ड बढी हुन्छ) भनेर भोल्युम घटाउने प्रचलनका कारण सिनेमाहरूमा लाउड मिक्सिङ गरिन्छ जसको परिणाम साउण्ड डिस्टोर्सन र क्वालिटीमा क्षति हुन् । यो अभ्यास गलत हो ।

यी सवै कुरालाई ध्यानमा राख्दै हामीले सिनेमा ‘जारी २’लाई डल्बी फेडर युनिट ५.८ मा मिक्सिङ गरेको निर्माण टिमले बताएको छ ।

“यदि, हाम्रो सिनेमालाई ३, ३.५ वा ४ युनिटमा चलाइएमा साउण्ड सानो सुनिन सक्छ, त्यसैले मापदण्ड अनुसारको भोल्युम स्तर कायम गरिदिनु हुन अनुरोध गर्दछौं,” निर्माण टिमले भनेको छ, “सिनेमा ‘जारी २’लाई दर्शकले राम्रो साउण्ड अनुभवका साथ सुन्न सकून् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले सवै सिनेमा हलहरूलाई प्राविधिक सहयोग र समन्वयका लागि हार्दिक अनुरोध गर्दछौं । यसका साथै भविष्यमा बासुरी फिल्मस्को सिनेमालाई हामि फेडर युनिट ७ मा मिक्सिंग गर्दै दर्शकलाई उत्कृष्ट अनुभव दिने कोशिस गर्नेछौँ ।”

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ ।

चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।

((