चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन

काठमाडौं । एक्सन, सस्पेन्स तथा लभस्टोरी कथामा बन्ने चलचित्र ‘राम नाम सत्य’ को छायांकन चितवनबाट सुरु भएको छ ।

कोरियोग्राफर माइकल चन्दको डेब्यु निर्देशनमा तयार हुन लागेको यो चलचित्रको पहिलो दृश्य चितवनको भरतपुर–११ जिरौनामा अवस्थित धर्मधाम मन्दिरमा क्यामेरा पूजागरी पहिलो दृश्य सुरु भएको हो ।

४० दिनसम्म चितवनका विभिन्न रमणीय स्थलमा छायांकन गरेपछि निर्माण युनिट मुस्ताङतर्फ प्रस्थान गर्नेछ । करिब ८० प्रतिशत छायांकन चितवनमै गर्ने र मुस्ताङमा थप १० दिन छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ ।

निर्देशक चन्दका अनुसार अहिले मुख्य कलाकार सुशील श्रेष्ठ र दिव्या रायमाझीमाथि केन्द्रित दृश्यहरु खिचिरहेको छ । एक्सन किंग विराज भट्ट पनि यसै हप्ताबाट छायांकनमा जोडिने उनको भनाइ छ ।

आगामी चैत्र २७ गतेबाट दर्शकमाझ आउने यो चलचित्रमा विराज, सुशील र दिव्यासहित आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह लगायतका दिग्गज कलाकारहरुको अभिनय रहनेछ ।

टिकटकबाट चर्चामा आएका आयुष सिंह ठकुरीले यसै चलचित्रमार्फत ठूलो पर्दामा डेब्यु गर्दैछन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘राम नाम सत्य’लाई उपेन्द्र शाही र श्वेता विमलीले निर्माण गर्दैछन् ।

किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माता रहेको यस चलचित्रमा मानकृष्ण महर्जनको उत्कृष्ट डीओपी, श्री श्रेष्ठको दमदार द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको कर्णप्रिय संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको आकर्षक कोरियोग्राफी रहनेछ ।