टिकटकमा हिट बन्यो ‘पीआर’को ‘टाटा बाइ बाइ’

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’को ‘टाटा बाइ बाइ’ बोलको गीत अहिले सामाजिक सञ्जालमा चर्चाको शिखरमा छ ।

गत आइतबार सलोमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतले टिकटकमा ‘भाइरल’ बन्नुका साथै युट्युबमा पनि दर्शकको मन जितिरहेको छ ।

अहिले टिकटकका भित्ताहरु ‘टाटा बाइ बाइ’ बोलको भिडियोले भरिएका छन्, जसले फिल्म निर्माण टिमलाई निकै उत्साहित बनाएको छ ।

निर्देशक बस्नेत आफ्नै फिल्मको गीतले यसरी चर्चा बटुलेको देख्दा दंग छन् । यो गीतले युट्युबमा पनि उत्साहजनक भ्युज बटुलेको छ ।

विशेषगरी गीतमा समावेश नीर शाह र गौरी मल्लको नृत्यले दर्शकको मन छोएको छ । भीम बी.सी. को संगीत, टेक बी.सी. र प्रीति घिमिरेको स्वर तथा रामजी लामिछानेको कोरियोग्राफीले गीतलाई अझ आकर्षक बनाएको छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’ मा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय रहेको छ ।

यस्तै, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी., दिक्पाल कार्कीको विशेष भूमिकाले फिल्मलाई थप रोचक बनाएको छ ।

प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथावस्तु बोकेको चलचित्र ‘पीआर’ले विदेशिएका सन्तानको अवस्था र नेपालमा रहेका अभिभावकको अपेक्षालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् ।

बन्दे प्रसादको सम्पादन र गणेश बुढाथोकीको लेखन रहेको यस चलचित्रको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन् ।

आगामी मंसिर २६ गतेदेखि देशभर प्रदर्शन हुने यस चलचित्रलाई आर आर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।