केदार घिमिरेद्वारा चलचित्र पत्रकार कल्याणकारी कोषमा २५ हजार सहयोग

काठमाडौं । चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरेले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

चलचित्र पत्रकार संघ नेपालले लामो समयदेखि पत्रकारहरूको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपतकालीन अवस्थाका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ । यही अभियानअन्तर्गत आइतबार अभिनेता घिमिरेले संघका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने, “म आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु । यो पटक चलचित्र पत्रकारहरूका लागि सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ । पत्रकारहरू नै हाम्रो सिर्जनालाई द​र्श​कसम्म पुर्‍याउने माध्यम हुन्, उनीहरूको सहयोग हाम्रो दायित्व पनि हो ।”

हालका दिनमा उच्च पारिश्रमिकका कलाकारका रूपमा परिचित घिमिरेले आफ्नो पारिश्रमिकको केही हिस्सा सामाजिक उत्तरदायित्वअनुसार समाजोपयोगी क्षेत्रमा लगाउँदै आएका छन् । उनले चलचित्र पत्रकारहरूको समस्यामा सानो योगदान दिन पाउनु गर्वको विषय भएको बताए ।