लहानमा नौ करोडमा सुविधासम्पन्न ‘कार्निभल सिनेम्याक्स’ सिनेमा घर, केके छन् सुविधा ?
काठमाडौं । लहान नगरपालिका–३ स्थित हस्पिटलचोकनजिकै नौ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल सञ्चालनमा आएको छ ।
स्थानीय मुरारका परिवारको लगानीमा निर्माण भएको यो सिनेमा हललाई सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिबार साँझ उद्घाटन गरे ।
कार्निभल सिनेम्याक्सका अध्यक्ष अभिनव मुरारकाले यो सिनेमा हल पूर्वाञ्चल क्षेत्रकै पहिलो एडभान्स प्रविधिमा बनेको दाबी गरे । उनका अनुसार, नवनिर्मित सिनेमा हलको क्षमता १३८ सिट रहेको छ ।
अध्यक्ष मुरारकाले यो हललाई मनोरञ्जनको साधन मात्र नभई पर्यटकका लागि नयाँ गन्तव्यको रूपमा प्रस्तुत गरेकम छन् ।
यो हलमा एडभान्स साउन्ड सिस्टम र ‘प्रोजेक्टर’ जस्ता उच्च प्रविधियुक्त सुविधा उपलब्ध छन् । दर्शकहरूका लागि टिकटको मूल्य ३०० देखि ९०० सम्म निर्धारण गरिएको छ । हलमा दैनिक चार ‘सो’ सञ्चालन गरिनेछ ।
मधेस प्रदेशमा वीरगञ्जबाहेक अन्यत्र सुविधासम्पन्न हल नभएको अवस्थामा लहानमा खुलेको यो हलले सिरहा, सप्तरी र उदयपुर आसपासका बासिन्दालाई लक्षित गरेको छ । यसअघि स्तरीय सिनेमा हल नहुँदा यी क्षेत्रका दर्शक फिल्म हेर्न वीरगञ्ज वा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो ।



