पति धर्मेन्द्रको निधनको गलत समाचारप्रति हेमा मालिनीको आक्रोश
काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र देओलको स्वास्थ्यलाई लिएर हालै फैलिएको निधनको खबरले उनका परिवारजन आक्रोशित भएका छन् ।
मंगलवार बिहान धर्मेन्द्रको निधनको झूटो खबर द्रुत गतिमा फैलिएको थियो । भारतीय संचारमाध्यममा र सामाजिक सञ्जालमा डढेलोझैं फैलिएको यो अफवाहलाई धर्मेन्द्रकी छोरी ईशा देओलले सुरुमै खारेज गरेकी थिइन् ।
इन्स्टाग्राम स्टोरीमार्फत ईशाले परिवारको गोपनियता कायम राखिदिन तथा हल्लामा विश्वास नगर्न आग्रह गरेकी छन् । उनले आफ्नो बुवा स्थिर र सुधार भैरहेको दाबी गरेकी छन् । उनले बुवालाई चाँडो निको हुनको लागि प्रार्थना गर्न आग्रह गरेकी छन् ।
ईशा देओलले तत्काल यसलाई झूटो भनेर खारेज गरेपछि धर्मेन्द्रकी पत्नी हेमा मालिनीले निधनको गलत समाचारप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन् ।
हेमा मालिनीले आफ्ना पति धर्मेन्द्रको मृत्युको हल्ला फैलाउनेहरूमाथि आफ्नो रिस पोख्दै सामाजिक सञ्जालमा उनीहरूको आलोचना गरेकी छन् । धर्मेन्द्र सोमबारदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएका छन् । उनका छोरा तथा सुपरस्टार सनी देओलले धर्मेन्द्रको अवस्था स्थिर रहेको जानकारी दिएका छन् ।
हेमा मालिनीले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट हालै गरेको ट्वीटमा लेखेकी छिन्, “जे भइरहेको छ त्यो अक्षम्य छ । जिम्मेवार मिडियाहरुले कसरी एक जना मानिसको बारेमा झूटा खबर फैलाउन सक्छन् जसको उपचार सफल भएको छ र परिणामहरू देखाइरहेका छन् ? यो साँच्चै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ । कृपया हाम्रो परिवार र हाम्रो गोपनीयताको पूर्ण सम्मान गर्नुहोस् ।”
हेमा मालिनीले आफ्ना पति धर्मेन्द्रको स्वास्थ्य अवस्थाको नजिकबाट निगरानी गरिरहेकी छिन् र नियमित रूपमा सामाजिक सञ्जालमा स्वास्थ्य अपडेटहरू साझा गर्दै आएकी छिन् ।




