मिलन चाम्सको ‘सुम्निमा’मार्फत सोल गुरुङको डेब्यु
काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ । हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले चलचित्रको मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो ।
लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस चलचित्रमार्फत डेब्यु गर्दै छिन् । उनले यसअघि केही म्युजिक भिडियोहरुमा मोडलिङ गरेकी छन् ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो चलचित्र लभस्टोरी हुने निर्देशक चाम्सले बताएका छन् । चलचित्रमा सोल गुरुङ, कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनेछन् ।
निर्देशक चाम्सका अनुसार चलचित्र युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिनेछ । राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ ।



