‘आ बाट आमा’ माघ १६ मा प्रदर्शन हुने, दुई फरक पोस्टर सार्वजनिक
काठमाडौं । दुई फरक भावका पोस्टरहरू सार्वजनिक गर्दै चलचित्र ‘आ बाट आमा’ ले आगामी माघ १६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।
बुधबार निर्माण टिमले सार्वजनिक गरेका यी पोस्टरले चलचित्रको भावनात्मक गहिराई र कथावस्तुलाई प्रष्ट पारेका छन् ।
पहिलो पोस्टरमा बिपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त र साइग्रेस पोखरेल ग्रामीण परिवेशमा खुसी मुद्रामा देखिएका छन् । यसले परिवारको सुखद् क्षणलाई चित्रण गर्दछ । तर, चलचित्रको मुख्य सन्देशलाई प्रतिनिधित्व गर्ने ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने मार्मिक स्लोगनले यो खुसीको पछाडिको लुकेको यथार्थलाई संकेत गर्छ ।
दोस्रो पोस्टर भने निकै भावुक र हृदयविदारक छ । यसमा श्रीमान-श्रीमतीको भूमिकामा रहेका बिपना र प्रदीप अँगालोमा बेरिएर रोइरहेका छन् भने छोराको भूमिकामा रहेका पल शाह रगताम्य अवस्थामा देखिएका छन् । यो पोस्टरले सन्तान र आमाबाबुबीचको सम्बन्धमा आउने उतारचढाव, बाध्यता र संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ ।
चन्द्र पन्तको लेखन, पटकथा तथा निर्देशनमा बनेको यो चलचित्रले ग्रामीण परिवेशमा आमाबाबु र सन्तानबीचको गहिरो भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ ।
आर्या पन्तले प्रस्तुत गरेको यस चलचित्रमा बिपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा, रचना गौतम लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाली हुन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको डिओपीमा नवराज उप्रेती छन् भने संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ ।
यो चलचित्रको विदेश प्रदर्शन अधिकार पनि बिक्री भइसकेको छ । हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्डको प्रदर्शन अधिकार लिइसकेको छ ।
आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको ‘आ बाट आमा’ को डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।



