‘जारी २’लाई पनि पछि पार्यो ‘परान’ले, धमाधम ‘जारी २’को शो खोस्दै
काठमाडौं । चलचित्र ‘परान’ले ‘जारी २’लाई पछि पारेको छ । पछिल्लो समय बक्सअफिसमा समेत आक्रमक बन्दै गएको ‘परान’ले ‘जारी २’लाई पछि पारेको हो ।
बिहीबार काठमाडौंका आउटलेटमा देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘जारी २’लाई २१ शो दिँदा ‘परान’लाई २९ शो उपलब्ध गराएको छ ।
रिलिजको दिन ‘जारी २’को दोब्बरभन्दा धेरै शो रहे पनि अहिले ‘परान’ले यसलाई पछि पारेको हो । परानको दैनिक रूपमा शो थपिँदै गएको छ भने ‘जारी २’लगायत अन्य चलचित्रको शो घट्दै गएको छ ।
क्यूएफएक्सकै अनुपातमा अन्य मल्टिप्लेक्समा पनि ‘परान’को शो रहेको छ ।
‘परान’ कात्तिक १४ गते रिलिज भएको चलचित्र हो । त्यसको एक हप्तापछि ‘जारी २’ रिलिज भएको हो । एक हप्ता अगाडि रिलिज भएको ‘परान’को शो सुरुमा ‘जारी २’ले खोसे पनि अन्ततः ‘परान’ले पुनः ‘जारी २’को शो खोसेको हो ।
दर्शकको वर्ड अफ माउथ र समीक्षकको समीक्षा दुवैको साथ पाउँदा सुरुका केही दिन कमजोर देखिएको ‘परान’ले अहिले आक्रामक व्यापार गरिरहेको छ । अधिकां शोमा हाउसफूल ब्यापार गरिरहेको छ । यो सिनेमाले नै ‘जेरी अन टप’को शो पनि खोसेको थियो ।
कात्तिक १४ गते रिलिज भएको चलचित्र ‘परान’लाई दीपक प्रसाद आचार्यको निर्देशन गरेका छन् । सिनेमाको कथा पनि उनी आफैँले लेखेका छन् ।
गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एडभटाईजिङका रञ्जित आचार्यको सह–स्वामित्वमा रहेको कम्पनी ‘बाइस्कोप सिनेमा’ले निर्माण गरेको हो ।
यो चलचित्रमा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ आदिको प्रमुख भूमिका रहेको छ ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमा ‘जारी २’लाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ ।
चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
यो चलचित्र कात्तिक २१ गते रिलिज भएको थियो ।



