चलचित्र ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज

काठमाडौं । भारतको डुवर्स क्षेत्रमा छायांकन गरिएको नेपाली चलचित्र ‘धागो’ आज नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ रिलिज भएको छ ।

उदीप राणा थापाको निर्देशनमा बनेको यो चलचित्रले नेपाल र भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेर प्रस्तुत गरेको छ ।

चलचित्रमा परिवारभित्रको सम्बन्ध, आर्थिक अभावका कारण उत्पन्न हुने दैनिक समस्या, सामाजिक दबाब र विषम परिस्थितिका बीच पनि अभिभावकले सन्तानका सपनाका लागि गर्ने निरन्तर प्रयासलाई रूपमा चित्रण गर्छ । संर्ष, बिछोड र परिवारमा देखा पर्ने मनोवैज्ञानिक उतारचढावका बीच केही हल्का हास्य तत्त्व पनि समावेश गरिएकोले कथा गम्भीर भए पनि दर्शकलाई जोडेर राख्छ ।

‘धागो’ भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रहरूमा रिलिज भएको छ ।

चलचित्रमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख भूमिका निर्वाह गरेकी छन् । प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारले साथ दिएका छन् । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिएकी छन् ।