चलचित्र उद्योगमा देखिएको सकारात्मक वातावरण
नेपाली चलचित्र उद्योगमा व्यापारिक घरानाको सधैँ खडेरी रह्यो । ठूला व्यापारिक घरना हम्मेसी चलचित्र निर्माणमा आएनन् । एकाधपटक केही बिजनेस घरानाले चलचित्रमा लगानीको जमर्को नगरेका होइनन् । तर, उनीहरू टिकेनन् ।
व्यक्तिगत रूपमा विनोद चौधरी र संस्थागत रूपमा सिजी इन्टरटेनमेन्टले चलचित्रमा लगानी गरे । तर, उनीहरू दोहोरिएनन् । अथवा एकपटक लगानी गरेपछि उनीहरू फर्किएर आएनन् ।
लामो समयपछि गोल्छा समूहका शेखर गोल्छाले चलचित्र ‘परान’ बनाए । ‘परान’ अहिले हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले अहिले दर्शकको राम्रो साथ पाइरहेको छ ।
राम्रो ब्रान्ड भएका सिनेमालाई समेत यसले पछि पारिरहेको छ । अन्य सिनेमालाई समेत पछि पार्न सफल हुँदा यसले बक्स अफिसमा पनि राम्रो कमाइ गरिरहेको छ ।
यो चलचित्रले राम्रो कमाइ गरेर आकर्षक प्रोफिट खल्तीमा हाल्नु भनेको नेपाली चलचित्र उद्योगमा व्यापारिक घराना आकर्षित हुनु हो । व्यापारिक घराना यो क्षेत्रमा आकर्षित हुनु भनेको नेपाली चलचित्र उद्योगका लागि ठूलो सफलता हो ।
बिजनेस घरानाले सिनेमा बनाउनु भनेको यो उद्योग पूर्ण व्यवसायिक हुनु हो । जुन उद्योग पूर्ण व्यवसायिक हुन्छ, त्यही उद्योग फस्टाउँछ ।
नेपालमा अहिलेसम्म प्रायः चलचित्र बनाउने चलचित्रलाई माया गर्नेले हो । अथवा बाहिरबाट हेर्दा ग्ल्यामर देखेर एनआएनएहरूले बनाउने हो । तर, जबसम्म विसुद्ध व्यापारी र पूर्ण कलाकारिता मात्रै गर्नेले पूर्ण व्यवसायिक रूपमा काम गर्दैनन्, तबसम्म चलचित्र उद्योग तीव्र गतिमा अगाडि बढ्दैन ।
किनभने व्यापार कलाकारले गर्न जान्दैन, उसले कलाकारिता मात्रै गर्न जानेको हुन्छ । व्यापार त त्यसले गर्छ, जसले बेच्न जान्दछ । त्यसैले चलचित्र बेच्न र यसमा पूर्ण व्यवसाय गर्न व्यापारी नै चाहिन्छ ।
चलचित्र बनाउनेले बनाउन जान्दछ, बेच्न जान्दैन । त्यसैले बेच्न जान्नेहरूले आफ्नो सामानको ब्रान्डिङ गर्छ । नेपाली चलचित्रको पनि ब्रान्डिङ गर्न आवश्यक छ । यो काम जति बिजनेस हाउसले कुशलतापूर्वक गर्न सक्छन्, त्यति अरुले जान्दैनन् ।
त्यसैले नेपाली चलचित्रको ब्रान्डिङका लागि पनि व्यापारिक घरानाका चलचित्रहरू चल्नुपर्छ, ताकी उनीहरू चलचित्रमा लगानी गर्न आकर्षित हुन सकुन् ।
स्टुडियोले चलचित्रमा लगानी नगरेसम्म चलचित्रमा व्यवसायिकता र विविधता भित्रिँदैन । योजवाबद्ध हिसाबले चलचित्र बनाउन स्टुडियोले मात्रै सक्छन् ।
शेखर गोल्छाले वर्षमा दुई/तीनवटा चलचित्र नियमित बनाउने बताका छन् । यो ‘परान’को व्यापारिक सफलताले भरिएको आत्मविश्वासको परिणाम हो । यस्तै अन्य बिजनेस हाउसहरूले पनि आएर सफल हुनुपर्छ । यसका लागि सबैले उत्प्रेरित गर्दै सहयोग गर्नुपर्छ ।



