महेश बाबू र राजामौलीको नयाँ फिल्मको शीर्षक घोषणा, यस्तो छ पहिलो झलक

काठमाडौं । साउथ सुपरस्टार महेश बाबू र ‘बाहुबली’, ‘आरआरआर’ जस्ता सुपरहिट फिल्मका निर्देशक एसएस राजामौलीका फ्यानहरूले फिल्म ‘वाराणसी’ को पहिलो झलक पाएका छन् ।

यसअघि ‘एसएसएमबी २९–ग्लोबट्रोटर’ नामले चिनिएको यो फिल्मको नाम शनिबार हैदराबादस्थित रामोजी फिल्म सिटीमा एक भव्य कार्यक्रमका बीच शीर्षक अनावरण गरिएको हो ।

यससँगै, महेशको पहिलो लुक पोस्टर पनि रिलिज गरिएको थियो, जुन धेरै प्रभावशाली देखिन्छ । ‘वाराणसी’ नाम घोषणा गरिएको यो फिल्म २०२७ को सुरुवातमा रिलिज हुने छ ।

वाराणसी’को नाम घोषणा कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू महेश बाबू, प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन लगायतको उपस्थिति थियो ।

के छ टिजरमा ?

फिल्मको टिजर वाराणसी शहरको भव्य झलकबाट सुरु हुन्छ । धेरै ऋषिहरूले हवन (अग्नि अनुष्ठान) गर्दै गरेको देखिन्छ । हवनको आगोले एउटा क्षुद्रग्रहलाई जन्म दिन्छ, जुन आकाशबाट सिधै अन्टार्कटिकामा बग्ने बरफको नदीमा खस्छ । यसपछि अफ्रिकाको झलक देखिन्छ, जहाँ धेरै जनावरहरू छन् । बाँदर देखाइएपछि मात्र हनुमानको झलक देखिन्छ । मोशन पोस्टरमा हनुमानले लंका जलाएको देखाइएको छ । त्यसपछि हनुमानलाई पहाड उठाएको देखाइएको छ ।

टिजरमा त्यसपछि वाराणसीको मणिकर्णिका घाटमा रुद्रले त्रिशूल समातेको देखाइएको छ । जसमा महेश बाबुलाई नन्दी (साँढे)मा सवार भई हातमा त्रिशूल लिएको अवतारमा देखाइएको छ । यसले फिल्मले शताब्दीयौँ लामो कथालाई समेट्ने र रामायणसँगको गहिरो सम्बन्ध रहेको संकेत दिन्छ ।

महेश बाबुलाई ‘रूद्र’ को भूमिकामा देखिए उनको यो रुद्ररूप देखेर प्रशंसकहरू उत्साहित भएका छन् ।

भिएफएक्स प्रयोग गरेर भव्य रूपमा प्रस्तुत गरिएको टिजरमा हाल महेश बाबुको पहिलो झलक मात्र प्रस्तुत गरिएको छ । यद्यपि, यो सानो झलक उनका फ्यानहरूलाई उत्साहित पार्न पर्याप्त छ ।