‘हर्ष’ पारिवारिक सिनेमा भएकाले सबैले मन पराउने वर्षाको विश्वास
काठमाडौं । मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’ निर्माण टिम प्रचारको लागि चितवन पुगेको छ । चितवन निर्देशक एकता पौडेलको गृहनगर समेत हो । त्यसैले पनि उनी चितवनका स्कुल, कलेजदेखि मेला महोत्सवसम्म पुगेर सिनेमाको व्यापक प्रचार गर्दैछिन् ।
यो सिनेमाको टिमले आज बिहान चितवनमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । त्यसलगत्तै ग्लोरियस एकेडेमी स्कुल पुगेर विद्यार्थीलाई सिनेमाको बारेमा जानकारी दिएको थियो । आजै सिनेमाको टिम खेलकुद तथा वृहत व्यापारिक महोत्सव २०८२ मा पुगेर दर्शकसँग भेटघाट गरेको छ ।
निर्देशक एकता पौडेल, कलाकारहरु वर्षा राउत, सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्रीको लगायत चितवन पुगेर सिनेमाको बारेमा जानकारी दिएका हुन् ।
चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डेव्यु निर्देशक एकता पौडेलले आफू चितवनको चेली भएकाले ‘हर्ष’ले चितवनवासीको माया पाउने बताइन् । “मैले धेरै मेहनत गरेर सिनेमा निर्माण गरेकाले सवैको साथ र सहयोग पाउने अपेक्षा छ,” उनले भनिन् ।
यो सिनेमाकी मुख्य अभिनेत्री वर्षा राउतले ‘हर्ष’ एउटा पारिवारिक भएकाले सवैले मन पराउने विश्वास व्यक्त गरिन् ।
कलाकार सन्तोष पन्तले महिला निर्देशकले मेहेनेत गरेर सुन्दर सिनेमा निर्माण गरेकाले सवैले हेरेर साथ दिन आग्रह गरे । कोरियोग्राफर सुनिल क्षेत्रीले सिनेमा राम्रो बनेको हुँदै आज चितवनमा आयोजित महोत्सवमा विशेष प्रस्तुति लिएर आफू उपस्थिति भएको बताए ।
चलचित्रमा सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ईप्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।



