‘नेपाल चलचित्र निर्माता संघ’को अध्यक्षमा उदय, महासचिवमा खगेन्द्र निर्वाचित
काठमाडौं । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’को अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । १५३ मत ल्याएर उनी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उमेरदवार सुनील कुमार थापाले १२६ मत प्राप्त गरेका थिए ।
संघको १९औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एकपटक वरिष्ठ उपाध्यक्ष र तीनपटक उपाध्यक्ष भइसकेका थिए ।
महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । उनले १५२ मत पाए । उनीसँग प्रतिस्पर्धा गरेका किरण नेपालीले १२५ मत पाए ।
सचिवमा युवराज गिरी १५९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी किसान पोखरेलले ११२ मत प्राप्त गरे ।
यसैबीच, संघको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्ष पदमा रौनकविक्रम कँडेल र ज्योतिराज राई निर्विरोध चुनिएका छन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
नौ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएकाले सबैजना सर्वसम्मत भएका छन् ।



