हेपेको खोलाले बगायो
काठमाडौं । चलचित्र ‘मन बिनाको धन’ले आकर्षक कमाई गरिरहेको छ । सुरुमा धेरैको नजर नपरेको यो चलचित्रले अनपेक्षित कमाई गरिरहेको छ ।
हलले समेत नपत्याएको ‘मन बिनाको धन’ ब्रान्ड भ्यालु भएका सिनेमा र कलाकारको चेपुवामा परेको थियो । तर, सिनेमा हलले पनि निकै न्यून शो दिएका थिए ।
शो कम पाएपछि निर्माण टिम सिनेमा उतार्ने कि के गर्ने भन्ने दोधारमा थियो । आफूहरूमाथि षड्यन्त्र भएको निर्देशक टंक बुढाथोकीले बताए । तर, सिनेमा उतारेनन् । र, जति शो हलले दिए, त्यसमै सिनेमा चलाए ।
पाएका अधिकांश शो हाउसफूल भए । ‘मन बिनाको धन’का हरेक दिनका हरेक शो प्राय हाउसफूल भए । जसका कारण यो सिनेमाले नपत्याउँदो तरिकाले बक्सअफिसमा कलेक्सन गर्यो ।
कात्तिक २१ गते यो सिनेमा रिलिज हुँदा ‘जारी २’ र पिकअप लिएको ‘परान’को चेपुवामा परेको थियो । तर, यो सिनेमाले गत शनिबारसम्म २ करोड ४३ लाख कलेक्सन गरिसकेको छ । सिंगल थिएटरको समेत हिसाब गर्दा अढाइ करोडभन्दा माथि कलेक्सन गरिसकेको छ । जबकी ब्रान्ड भ्यालु भएको ब्यानर, सिक्वेल र कलाकार भएको सिनेमा ‘जारी २’को कमाइ पनि ५ करोड छेउछाउ मात्रै हो ।
अहिले पनि ‘मन बिनाको धन’मा दर्शकको संख्या उल्लेख्य रहेको छ । धेरैलेले हेपेको सिनेमाले अनपेक्षित साथ पायो । अथवा हेपेको खोलाले बगायो भन्ने उखान यहाँ चरितार्थ हुन्छ । यो चलचित्रमा अशोक दर्जी मुख्य भूमिकामा छन् । उनको सांगीतिक जीवनको कथा यो सिनेमाको केन्द्रीय कथानक हो ।



