धमाधम बिक्री हुँदै ‘आ बाट आमा’को विदेश प्रदर्शन अधिकार, चार देशमा सोल्ड आउट

काठमाडौं । चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा निर्माण भएको चलचित्र ‘आ बाट आमा’ ले विदेश बजारमा उत्कृष्ट व्यापार गर्ने संकेत देखाएको छ ।

निर्माण नहुँदै अस्ट्रेलिया र न्युजिल्याण्डको प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको यो चलचित्रले थप चार वटा देशमा सोल्ट आउट भएको छ ।

बिहिबार चलचित्रको युएई, कतार, बहराइन र इजरायलका लागि प्रदर्शन अधिकार सोल्ड आउट भएको हो । यी देशको प्रदर्शन अघिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको निर्माण पक्षले जनाएको छ ।

पछिल्लो समय विदेशमा नेपाली फिल्महरूप्रति बढ्दो क्रेजसँगै ‘आ बाट आमा’ लाई थप देशबाट निरन्तर माग आइरहेको निर्माण पक्षले बताइएको छ ।

अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले खरिद गरिसकेको थियो ।

चलचित्रका निर्देशक चन्द्र पन्तले विदेशबाट प्राप्त सकारात्मक प्रतिक्रियालाई नेपाली फिल्म उद्योगका लागि उत्साहजनक संकेतको रूपमा व्याख्या गरेका छन् । विदेशमा रहेका नेपाली दर्शकले कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशयुक्त सामग्रीप्रति बढ्दो आकर्षण देखाइरहेको उनले भनाइ छ ।

आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको यस चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, अंशु महर्जन, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दिलिप उखेडा र रचना गौतमको अभिनय छ ।

‘आ बाट आमा’ले आमाको संघर्ष, जिम्मेवारी र समाजले आमाप्रति देखाउने व्यवहारलाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गर्छ । “बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनुपर्‍यो” भन्ने यो सिनेमाको स्लोगनले विदेशिएका नेपालीहरूको भावना सशक्त रूपमा अभिव्यक्त गरेको छ ।

नेपालमा यो चलचित्रको वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआरको रहेको छ ।

आगामी माघ १६ गतेबाट अल नेपाल प्रदर्शनमा आउने यो चलचित्रबाट निर्देशक पन्त निकै आशावादी देखिएका छन् ।