चलचित्र रिलिज पूर्व गान्तोकमा ‘ऊनको स्वीटर साँझ’ सम्पन्न, हजारौँ दर्शक माझ गुन्जिए सुजन चापागाईँ
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ शुक्रबारबाट भारतको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा प्रदर्शन हुँदै छ ।
रिलिजको पूर्व सन्ध्यामा यो चलचित्रको टिमले बुधबार सिक्किमको राजधानी गान्तोकस्थित एमजी मार्गमा ‘ऊनको स्वीटर साँझ’ कार्यक्रमको आयोजना गरेको थियो ।
चलचित्रको प्रचार–प्रसारअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका लोकप्रिय गायक सुजन चापागाईँले चलचित्रका गीतहरू प्रस्तुत गरेका थिए ।
भारतका नेपाली भाषी समुदायबीच गरिएको ‘ऊनको स्वीटर साँझ’मा गायक सुजन चापागाईँको प्रस्तुतीहरूले माहोल रोमाञ्चक बनेको थियो । हजारौँ दर्शकको उपस्थितिले नेपाली सिनेमाप्रतिको उच्च आकर्षण स्पष्ट देखायो ।
नेपालबाट कार्यक्रमका लागि अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, संगीत निर्देशक कोविद बज्र, छायांकन निर्देशक चिन्तन राजभन्डारी, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकी पुगेका थिए ।
सोही क्रममा उनीहरुले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरेका थिए ।
उक्त ‘ऊनको स्वीटर साँझ’मा सिक्किम र दार्जिलिङका चर्चित कलाकारहरूको उपस्थिति कार्यक्रममा थप आकर्षण बनेको थियो । अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्यापर देवा र सोनम ओङ्मु इथेन्पालगायतले आफ्ना प्रस्तुती दिए । यस्तै, अमृता राईले चलचित्रको चर्चित गीत ‘काफ्ले’ मा नृत्य गरे भने नेपालका नर्तक सुरज सिंहजाली मगरले ‘चाइनेजो जिन्दगानी’ गीतमा प्रस्तुती दिए ।
भारतको सेन्सर बोर्डबाट पास भइसकेको यस चलचित्रलाई एसली प्रोडक्सनले वितरण गर्दैछ । सिक्किममा बिहीबार साँझ विशेष प्रिमियर शोसमेत तय गरिएको छ ।
निर्देशक नवीन चौहानले नेपालमा जस्तै भारतमा पनि चलचित्रले उल्लेखनीय सफलता हात पार्ने विश्वास व्यक्त गरे । वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईले यो पहिलो प्रयास नै सकारात्मक दिशामा अगाडि बढेको बताउँदै भविष्यमा भारतीय बजारमा नेपाली चलचित्रलाई नियमित रूपमा ल्याइने बताए ।
कार्यक्रमकै अवसरमा गायक सुजन चापागाईँले आगामी डिसेम्बर २३ मा गान्तोकमा आफ्नो ब्यान्ड ‘सुजन चापागाईँ एन्ड द इन्फिनिटी’को कन्सर्ट हुने जानकारी दिए ।
नेपालमा करिब १२ करोड रुपैयाँभन्दा बढी बक्स अफिस कमाई गर्दै वर्षकै सफल र चर्चित फिल्ममध्ये एक बनेको ‘ऊनको स्वीटर’ले यथार्थपरक कथा, दमदार अभिनय र मन छुने संगीतका कारण व्यापक प्रशंसा पाएको छ ।
भारतमा पनि सोही लोकप्रियता दोहोरिने अपेक्षा निर्माण पक्षले लिएको छ ।



