‘किन लाग्छ माया’ को फस्टलुक सार्वजनिकसँगै प्रदर्शन मिति घाेषणा
काठमाडौं । पारिवारिक तथा सामाजिक कथावस्तुमा बोकेको चलचित्र ‘किन लाग्छ माया’ चैत्र ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले शुक्रबार प्रदर्शन मिति घोषणा गर्दै सिनेमाकाे फस्टलुक पोस्टर सार्वजनिक गरेको हाे ।
सार्वजनिक फस्टलुकमा प्रमुख चलचित्रका कलाकार सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोमार्फत चर्चित बन्दै आएका सेडो रियलले यसै सिनेमामार्फत आफ्नो अभिनय डेब्यू गर्न लागेका हुन् ।
सन्जीत भण्डारी र मोनु खड्काको निर्माण, कुवेर तामाङको निर्देशन र सेडो रियलकै कथामा बनेको यस चलचित्रको पटकथा तथा संवाद रामकाजी घिमिरेले लेखेका हुन् ।
याे सिनेमामा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, पवित्रा साकी (मिस पबी), हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकालसहित दर्जनौं कलाकारको अभिनय रहेको छ । बाल कलाकारमा आराध्या राज्यलक्ष्मी बी.सी, विनायक सुनुवार र सुरित पूढासैनी रहेका छन् ।
एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेन्द्र खड्गी एक्सन, रामशरण उप्रेती छायांकन, पुस्कर सुनुवार र राजेन्द्र बजगाईं संगीत, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा र अभि वाग्ले, सम्पादन टेकेन्द्र शाहको रहेको छ । पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् ।
चलचित्रका निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल र मुख्य सहायक निर्देशक रामशरण कोइराला हुन् ।
‘किन लाग्छ माया’ले दाजुभाइबीचको मित्रता, एकअर्काप्रतिको जिम्मेवारी, त्याग र वैवाहिक सम्बन्धमा विकसित हुने प्रेमजस्ता भावनात्मक आयामलाई चित्रण गर्नेछ । निर्माण पक्षले पारिवारिक परिवेशमा निर्मित यस चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ ।



