किन पुगे एक साथ खगेन्द्र र वर्षा पूर्वी नेपाल ?
काठमाडौं । चलचित्र ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, सिनेमाको निर्माण टिम हिजो शुक्रबार पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको छ ।
झापाको बिर्तामोडस्थित सिनेमाकी निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल, चिल्ड्रेन स्कूलमा पुगेर ‘हर्ष’को कथावस्तु बारेमा जानकारी दिँदै सिनेमा हेर्न आग्रह गरेका छन् ।
लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामाग्रीले देखाएको छ । आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमाले पछिल्लो समय नेपाली सिनेमामा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफूले यो विधा रोजेको निर्देशक पौडेलले बताइन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।
न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।
सिनेमामा खगेन्द्र र वर्षासँगै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ईप्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्र
शन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।
काफिया फिल्मस् र डिसिएनले वितरण गर्ने सिनेमाको डिजिटल पार्टनरमा बुढासुब्बा डिजिटल छ ।



