‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक पौडेल

काठमाडौं । निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्युयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्युलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् ।

आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्यु सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ ।

दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, “नेपाली सिनेमाले अहिले राम्रो व्यापार गरिरहेको अवस्था छ । अन्तरवार्ताका लागि आउँदै गर्दा म जमल हुँदै आइरहेकी थिएँ । विश्वज्योति अगाडि नेपाली सिनेमाका तीनवटा पोस्टर देखेपछि खुसी लाग्यो । यसले मेरो सिनेमाप्रति सकारात्मक अनुभूति थपिदियो । मेरा सिनेमा पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु । शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु ।”

नेपाली समाजमा वंश निरन्तरता महत्वपूर्ण मानिन्छ । यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दवाबलाई ‘हर्ष’ले उठान गरेको पौडेल बताउँछिन् ।

महिला निर्देशक र महिलाकेन्द्रित कथावस्तुको कारण सिनेमाले महिलाको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । यसबारे पौडेल भन्छिन्, “मैले प्रभावकारी ढंगले प्रस्तुत गर्ने प्रयास गरेकी छु ।”