अभिनेत्री सामन्थाले गरिन् दोस्रो विवाह

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु पुनः एकपटक चर्चाको शिखरमा छिन् । प्रायः आफ्ना चलचित्र र वेब सिरिजका कारण हेडलाइन बन्ने सामन्था, यसपटक भने आफ्नो व्यक्तिगत जीवन र प्रेम सम्बन्धका कारण चर्चामा आएकी हुन् । रिपोर्टहरूका अनुसार सामन्था र निर्देशक राज निदिमोरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए र हालै उनीहरूले विवाह समेत गरेका छन् ।

सन् २०२४ को सुरूवातदेखि नै सामन्था र राज नजिकिएको खबर बाहिरिन थालेको थियो । पछिल्लो एक वर्षयता सामन्थाले राजसँगका तस्बिरहरू सामाजिक सञ्जालमा निर्धक्क भएर पोस्ट गर्न थालेपछि उनीहरूको सम्बन्ध गहिरो हुँदै गएको अनुमान गरिएको थियो ।

‘हिन्दुस्तान टाइम्स’ मा प्रकाशित भएको एक रिपोर्ट अनुसार राज र सामन्थाले गोप्य रूपमा विवाह गरिसकेका छन् । लामो समयदेखि उनीहरूको विवाहको हल्ला चलेको भए पनि अब उनीहरू औपचारिक रूपमै एक भएको बताइएको छ ।

यो जोडीले कोइम्बटूर स्थित ईशा योग केन्द्रको ‘लिङ्ग भैरवी मन्दिर’ मा विवाह गरेका हुन् । विवाह सोमबार बिहान भएको र यसको खबर आइतबार रातिदेखि नै फैलिन थालेको उक्त रिपोर्ट बताइएको छ ।

यो विवाह समारोहलाई पूर्ण रूपमा गोप्य राखिएको थियो, जसमा केवल ३० जना नजिकका पाहुनाहरू उपस्थित थिए । विवाहमा सामन्था रातो साडीमा सजिएकी थिइन् भने राज साधारण पहिरनमा देखिएका थिए । मिडियाको नजरबाट बच्नका लागि विवाहको खबरलाई निकै गोप्य राखिएको थियो ।

यसैबीच राजकी पूर्वपत्नी श्यामली डेले विवाहको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा एक पोस्ट साझा गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक सांकेतिक भनाइ पोस्ट गरेपछि धेरैको ध्यान तानिएको थियो । रिपोर्टका अनुसार श्यामली र राजको सन् २०२२ मा सम्बन्धविच्छेद भएको थियो ।

नागा चैतन्यसँगको सम्बन्ध विच्छेदपछि नयाँ सुरुवात
सामन्था यसअघि सुपरस्टार नागार्जुनका छोरा नागा चैतन्यसँग विवाहित थिइन् । तर, विवाहको चार वर्षपछि उनीहरू अलग भएका थिए । नागा चैतन्यले अभिनेत्री शोभिता धुलिपालासँग नयाँ जीवनको सुरुवात गरिसकेका छन् । यता, सामन्थाले पनि अब ‘द फेमिली म्यान’ का निर्देशकसँग घरजम बसाएको खबरले उनका प्रशंसकहरूलाई आश्चर्यचकित बनाएको छ ।