बक्स अफिसमा धेरै कमाउने छैटौं सिनेमा बन्यो ‘परान’, ‘जारी २’को कलेक्सन कति ?

काठमाडौं । गत कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘परान’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

प्रदर्शनको एक महिना पुग्न लाग्दा पनि दर्शकको साथ पाइरहेको यस चलचित्रले वर्ष २०८२ को हालसम्मकै सर्वाधिक कमाइ गर्ने चलचित्रको उपाधि हासिल गरेको छ ।

एक सातामै २ करोडको जम्प
प्रदर्शनको पछिल्लो एक सातामा मात्रै ‘परान’ले दुई करोड रुपैयाँ ग्रस कलेक्सन थपेको छ । अघिल्लो शनिबार १४ करोड १६ लाख रुपैयाँमा रहेको चलचित्रको कुल कमाइ यो शनिबार रातिसम्म आइपुग्दा १६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

अल-टाइम रेकर्डमा छैटौं स्थान
यो कमाइसँगै ‘परान’ नेपाली चलचित्र इतिहासमै सर्वाधिक कमाउने चलचित्रहरूको सूचीमा छैटौं स्थानमा उक्लिएको छ । यसले दुई ब्लकबस्टर चलचित्रहरू ‘छक्कापञ्जा १’ (१६ करोड १० लाख २२ हजार) र ‘महाजात्रा’ (१५ करोड ६७ लाख ९९ हजार)—को ‘लाइफटाइम कलेक्सन’लाई पछि पारेको छ ।

अब ‘परान’ भन्दा अघि सर्वाधिक कमाउने सूचीमा क्रमशः ‘पूर्णबहादुरको सारंगी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘छक्कापञ्जा ४’ र ‘जारी’ मात्र रहेका छन् ।

दीपक आचार्यको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा नीर शाह, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, अञ्जना बराइलीलगायतको अभिनय छ । चलचित्रको निर्माण शेखर गोल्छा र रञ्जित आचार्यले गरेका हुन् ।

अन्य चलचित्रको अवस्था कस्तो ?
‘परान’सँगै बक्स अफिसमा अन्य चलचित्रहरूले पनि उत्साहजनक व्यापार गरिरहेका छन् । असोज ३१ गते पदर्शनमा आएको ‘जेरी अन टप’ले हालसम्म १२ करोड २३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

सुयोग गुरुङले निर्देशन गरेको चलचित्रमा अनमोलसँगै भूवन केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे मुख्य भूमिकामा छन् ।

कात्तिक २१ गते रिलिज भएको दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी २’ले ६ करोड १९ लाख रुपैयाँ कमाएको छ । चलचित्र विकास बोर्डका अनुसार अघिल्लो सातासम्म यसको कमाइ ५ करोड ५९ लाख रुपैयाँ थियो । यसको निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् ।

अशोक दर्जीको मुख्य भूमिका र टंक बुढाथोकीको निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ले ३ करोड ७४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।