बेनिशा हमाल निर्देशित सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक

काठमाडौं । अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यु’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सार्वजनिक भएको छ । अभिनेत्री हमालकै लेखन, निर्देशन तथा निर्माण रहेको सर्ट फिल्म युट्युवमा सार्वजनिक भएको हो ।

तीन वर्षअघि निर्माण भएको चलचित्र आज सार्वजनिक गर्न पाउँदा आफूलाई खुसी मिलेको हमालले बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो यात्रा साँच्चिकै सुन्दर र सिकाइले भरिएको रह्यो । यसमा साथ दिनुहुने सबै सबैलाई धन्यवाद ।’

बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको ब्यानरमा निर्माण भएको सर्ट फिल्ममा वर्षा राउत बेहुलीको भूमिकामा छिन् भने विवेक सिंह ठकुरी लेखकको भूमिकामा छन् ।

फिल्मले एक ४० वर्षीय लेखकको कथा भन्छ, जसको फ्ल्याटमा एक बेहुली अचानक प्रवेश गर्छिन् । लेखकसँग संवाद गर्छिन् । तर, अन्त्यमा पत्ता लाग्छ, बेहुली सडक दुर्घटनामा बितिसकेकी हुन्छिन् ।

यो सर्ट फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ ।